सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न भन्दै गरेको लकडाउनका कारण नेपालका साना ठूला सबै होटलहरु छ महिना बन्द हुन बाध्य भए । लामो समयदेखि बन्द रहेका होटलहरु यही असोज १ गतेबाट सुचारु भएका छन् । तर सबै होटलहरु सञ्चालन हुन सक्ने अवस्थामा छैनन् । सुचारु भएका होटलहरु पनि अझै केही समयसम्म पूर्ण रुपमा सञ्चालन हुन सक्ने अवस्थामा छैन । सहज रुपमा यातायात सञ्चालन हुने र मानिसहरुको ओहोरदोहोर नभएसम्म होटलहरु पूर्ण सञ्चालन हुन सक्दैनन् । त्यसैले सञ्चालनको तयारी गर्नेहरु पनि ग्राहकको बाक्लो उपस्थितिको पर्खाईमा छन । व्यावसायिक उद्देश्यबाट मात्र सञ्चालन हुने होटलहरु लामो समय बन्द रहँदा पक्कै पनि नोक्सानी व्यहोर्न बाध्य छन् ।

दैनिक रुपमा हुने आम्दानी रोकिएपछि लगानीको व्याजदेखि घरभाडा तथा कर्मचारीको पारिश्रमिक भुक्तानीमा स्वभाविक कठिनाई छ । तर लामो समयसम्म गरेको मुनाफालाई संकटको समयमा बिर्सन हुँदैन । मजदुर वर्गको सहयोगमा लगानीकर्ताले पर्याप्त कमाई गर्ने तर संकटमा श्रमिकहरु अप्ठेरोमा पर्नु हुँदैन । होटल व्यवसाय सञ्चालन गर्दा थोरैले मात्र घाटा खानु परेको हुन्छ । नत्र होटलबाट नाफा मात्रै हुने गरेको छ । तर लामो समय बन्द हुँदा हिजोको नाफा बिर्सने र यस अवधिको घाटा मात्र हेर्ने प्रवृत्तिले मजदुर समस्यामा परेका छन् । व्यवसायीहरुका गुनासाको सम्बोधन मौद्रिक नीतिले गरिदिएको छ । त्यसबाट केही व्यवसायीलाई नाफा नभए पनि ठूलो घाटाबाट बच्न सक्ने अवस्था बनेको छ । त्यसैले श्रमिक वर्गका लागि व्यवसायीहरुले मानवीय दृष्टिकोण राख्न आवश्यक छ ।

लकडाउनले व्यवसाय बन्द हुँदा श्रमिकहरुलाई बेतलवी छुट्टी दिइएको अवस्था छ । लगानीकर्तालाई भएको नोक्सानी वा घाटा श्रमिकहरुले व्यहोरिदिनु पर्ने अवस्था बनेको छ । यो सरासर मानव अधिकार उल्लंघन हो । ग्राहकको जुठो भाँडा माझेर श्रमिकहरुले नै मालिकलाई पूँजीपति बनाई दिएको वास्तविकता हो । तर, आज संकट पर्दा मालिक जहाँको तहीँ तर श्रमिक भने सडकमा पुग्नुपर्ने अवस्थाको अन्त्य आजको आवश्यकता हो । मानिवीय दृष्टिकोणबाट पनि श्रमिकहरुलाई कुनै उद्योग प्रतिष्ठान वा व्यवसायबाट बिदा दिन मिल्दैन । त्यही जुठोभाँडा माझेर घर व्यवहार चलाएको परिवार अब कसरी बाँच्ने भन्ने कुराको समान्य विवेक व्यवसायीले लगाउनु आवश्यक छ भने यसको समग्र जिम्मेवारी सरकारको पनि हो ।

चैतदेखि ६ महिना कुनै होटलका कर्मचारीहरुले तलब पाएका छैनन् । कुनै–कुनै होटलहरुले केही कर्मचारीलाई आंशिक तलब दिएका छन् । कतिपय होटलहरुले असोजबाट केही कर्मचारीलाई काममा बोलाए पनि अन्य कर्मचारी बोलावटको पर्खाईमा बसेका छन् । धेरैजसो होटलले बिना तलबको छुट्टी दिएका छन् । कार्यालय सञ्चालनका लागि केही कर्मचारीलाई आंशिक पारिश्रमिकमा राखेको अवस्था छ । होटलमा पूर्ण रुपमा ग्राहक नआई अरु कर्मचारीलाई बोलाउने पक्षमा लगानीकर्ता देखिँदैनन् । जसको सहायताले आफ्ना महल ठडिए, बैभव बढेको छ वा व्यवहार चलेको छ भने संकटमा त्यही वर्गलाई उपेक्षा गर्नु मानवोचित व्यवहार हुनै सक्दैन । यस विषयमा मजदुरका पक्षमा वकालत गर्ने पेशागत संगठनदेखि अधिकारको क्षेत्रमा काम गर्ने भन्नेहरुको पनि ध्यान पुग्न जरुरी छ ।