हेटौंडाः साहित्यिक संस्था गजल मञ्च मकवानपुरको १ सय ७१ औं गजल यात्रा आज जुमबाट सम्पन्न भएको छ । गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारीको सभाध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलको प्रमुख आतिथ्य रहेको थियो ।

गजल मञ्च मकवानपुरले यस अघिका ५ वटा शृंखला अनलाइनबाट नै गजल यात्रालाई निरन्तरता दिँदै आएको छ । मञ्चका सचिव केशव समर्पणले सञ्चालन गर्नुभएको कार्यक्रममा मञ्चका उपाध्यक्ष सिएम रिमालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा साहित्यकारहरुले प्रेमिल भाव भएको गजल वाचन गर्नुभएको थियो । त्यस्तै देशको वर्तमान परिस्थितिलाई लक्षित गरी लेखिएको गजल र समसामायिक विषयमा लेखिएका गजलहरु वाचन गरिएको थियो । प्रमुख अतिथि निमेष निखिलले सम्पुर्ण गजलकारहरुलाई गजल लेख्दा मौलिक भाषा प्रयोग गर्न आग्रह गर्नुभयो । मौलिक शव्दहरुले नै गजलमा मिठास् भरिने उहाँको भनाइ थियो ।

सभाध्यक्ष देवराज तिवारीले पाँचौं संविधान दिवसको शुभकामना दिँदै संविधान कै विषयमा लेखिएको गजल वाचन गर्नुभयो । ‘बिउँझी सकेर पनि बिहान चाहिएको छ, विभेद बेच्ने संविधान चाहिएको छ, लगायतका शेरहरु सुनाउनुभएको थियो ।कार्यक्रममा मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोखरेल, सिस्नुपानी नेपालका अध्यक्ष गणेश कुमार पौडेल, चितवनबाट लेखराम सापकोटा, रौतहटबाट रेणुका (जिसि) खतिवडा, साहित्यकार डिवि बर्तौला लगायतले गजल वाचन गर्नुभएको थियो ।