हेटौंडाः बागमती प्रदेशको युवा परिषद्को उपाध्यक्ष पदको नियुक्तीका लागि १६ जनाले आवेदन दिएका छन् । गत साउन ३२ गते बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले युवा परिषद्को उपाध्यक्षका लागि आवेदन माग गरेको थियो । माग गरिएकोमा बागमती प्रदेशका १६ जना युवाले आवदेन दिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले बताउनुभयो ।
उनीहरुमध्ये सबैभन्दा धेरै मकवानपुर जिल्लाबाट निवेदन परेको मन्त्रालयको स्रोतले बताएको छ । बागमती प्रदेशका १३ जिल्लामध्ये केही जिल्लाबाट भने निवदेन नपरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले उपाध्यक्ष पदका लागि आवदेन दिएकाहरुको नाम भने खुलाएको छैन । प्रदेशको युवा परिषद्को अध्यक्ष भने सामाजिक विकास मन्त्री रहने व्यवस्था छ । आवेदन दिएको एक महिनासम्म पनि सिफारिस समितिले उपाध्यक्ष पदको लागि निर्णय गर्न नसक्दा ढिलाई भएको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले उपाध्यक्ष पदका लागि आवेदनसँगै उनीहरुको कार्ययोजना पनि माग गरेको थियो । प्रदेशका युवाहरुको हकहितको संरक्षण, सम्बर्धन र सशक्तीकरण गरी शिक्षा, सीप, उद्यमशिलता र रोजगारीमा युवाहरुको भूमिका र योगदानलाई प्रवर्धन गर्दै समुन्नत प्रदेश र राष्ट्रका नीति निर्माणदेखि कार्यान्वयन तहसम्म युवालाई समावेश गर्ने सम्बन्धमा १६ जना युवाहरुले आ–आफ्नो कार्ययोजना समेत पेश गरेका छन् ।
३९ वर्ष ननाघेको तथा स्नातक तह उत्तीर्ण गरेको १६ जना युवाहरुमध्येबाट एकजना उपाध्यक्ष पदमा प्रदेशको सामाजिक विकास मन्त्रालयले नियुक्त गर्ने भएपनि अहिलेसम्म नियुक्तीको विषय अगाडि बढ्न नसकेको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले नियुक्त गरेको उपाध्यक्षले प्रदेश युवा परिषद्को नीति, योजना तथा कार्यक्रम कार्यान्वयन गराउने, परिषद्को वार्षिक कार्यक्रम, योजना तथा बजेट तयार गरी परिषद् समक्ष पेश गर्ने, परिषद् तथा समितिको निर्णय कार्यान्वयन गर्ने\गराउने, परिषदद्धारा सञ्चालित योजना तथा कार्यक्रमहरुको अनुगमन गर्ने\गराउने, परिषद्को कर्मचारी व्यवस्थापन तथा अन्य व्यवस्थापकीय कार्यहरु गर्नुपर्ने प्रदेश युवा परिषद् ऐनामा उल्लेख छ ।
त्यस्तै प्रदेश युवा परिषद्को उपाध्यक्ष नियुक्तीपछि सदस्यहरु परिषद्ले नियक्त गर्नेछ भने प्रदेशको १३ जिल्लामा जिल्ला युवा समिति गठन गर्नेछ । १३ जिल्लामा जिल्ला युवा समितिका अध्यक्ष लगायत सदस्यहरु परिषद्ले जिल्लामा युवाको क्षेत्रमा योगदान पुर्याएका युवाहरुले समेटेर नियुक्त गर्नेछ । जिल्लास्तरम परिषद्को योजना कार्यक्रम सहजीकरण तथा समन्वय गर्न प्रत्येक जिल्लामा युवा समितिको अध्यक्ष लगायत सदस्यहरु परिषद्ले नियुक्त गर्नेछ । प्रदेश युवा परिषद्को जिल्ला अध्यक्ष हुन १२ कक्षा पास गरेको हुनुपर्ने तथा युवा क्षेत्रमा योगदान पुर्याएको र ४० वर्ष नकटेको हुनुपर्नेछ । प्रदेश युवा परिषद्ले १६ वर्षदेखि ३९ वर्षसम्मका व्यक्तिलाई युवाको परिभाषामा समेटेको छ ।











