हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा आज २ सय ३३ जनाको कोरोना परिक्षणका लागि स्वाब नमुना सङ्कलन गरिएको छ । आज हेटौंडाबाट १ सय ६८ जनाको र मनहरीबाट ६५ जनाको स्वाब सङ्कलन गरी कोरोना भाइरस सङ्क्रमण परिक्षणको लागि हेटौंडा-१० स्थित प्रदेशिक कोरोना परिक्षण प्रयोगशालामा पठाइएको हो ।

हेटौंडा-४ कर्रास्थित आइसोलेसनबाट आज ३६ जना उपचाररत रहेका कोरोना सङ्क्रमितहरुको पुनः परिक्षणको लागि र १ सय ३२ जना कोरोना सङ्क्रमितहरुको सम्पर्कमा आएकाहरुको पहिचान गरी स्वाब सङ्कलन गरेर परिक्षणको लागि कोरोना परिक्षण प्रयोगशाला पठाइएको कर्रा आइसोलेसनका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाइले जानकारी दिनुभयो । आज स्वाब सङ्कलन गरिएको १ सय ६८ जना मध्य १ सय २२ जना पुरुषको र ४६ जना महिलाको स्वाब सङ्कलन गरीएको निरिक्षक चौलागाईले बताउनुभयो । पुनः परिक्षणको लागी पठाइएको ३६ जनामा ११ जना हेटौंडा-६ गौरीटार स्थित आइसोलेसनमा उपचाररत रहेका छन् भने २५ जना आ-आफ्नो होम आइसोलेसनमा उपचाररत रहेका छन् ।

त्यस्तै मनहरी गाउँपालिकाको वडा नम्बर ९ र ३ का ६५ जनाको आज स्वाब सङ्कलन गरीएको छ । उपचाररत रहेका कोरोनाका विरामी ४ जनाको र कोरोना सङ्क्रमितहरुको सम्पर्कमा आएकाहरुको पहिचान गरी ६१ जनाको स्वाब सङ्कलन गरी कोरोना परिक्षणको लागी हेटौंडा-१० को कोरोना परिक्षण प्रयोगशालामा पठाइएको गाउँपालिकाका सिनियर अहेब ज्योतिराज लुइटेलले जानकारी दिनुभयो । उहाका अनुसार आज २ पुरुष र २ महिलाको पुनः परिक्षणको लागि पठाइएको हो भने नयाँ सङ्कलन गरिएकोमा ४० जना पुरुषको र २१ जना महिलाको स्वाब सङ्कलन गरिएको गाउँपालिकाका अहेब लुइटेलले बताउनुभयो ।

मकवानपुरको स्थानिय निकायहरुमध्य सङ्क्रमण धेरै फैलिनेमा दोस्रो स्थानमा रहेको मनहरी गाउँपालिकामा हालसम्म ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमा २४ जना उपचार भएर घर फर्किसकेका छन् भने १४ जना उपचाररत रहेका छन् । मनहरीमा होम आइसोलेसन उपचाररत रहेकी एक महिलामा श्वासप्रश्वासमा समस्या भएकोले चितवन मेडिकल कलेज रिफर गरिएको अहेब लुइटेलले बताउनुभयो । मनहरी-८ चिसापानी स्थित आइसोलेसनमा हाल मनहरीका १३ जना र राक्सिराङ गाउँपालिकाका २ जना गरि १५ जना उपचाररत हरेका छन् ।