Home कला गफै गफमा गुडुल्किएको गुजुल्टो (हाँस्यव्यङ्ग्य)

गफै गफमा गुडुल्किएको गुजुल्टो (हाँस्यव्यङ्ग्य)

सधैं थोत्रो मोटरसाइकलमा खुइकिने गरेका फूर्तिमान फटकसिले एकदिन नयाँ मोटरसाइकलमा हुइकिँदै आएर भने, ‘मोटरसाइकल किन्छु भनेको धेरै भयो बल्ल हिजो किनेँ ।’
आफूले पनि पुरानो मोटरसाइकलको एक्सिलेटर बटार्न थालेको धेरै वर्ष भयो । गाउँ समाजमा ठूलावडामा नपरिएला, पिछडातिर झरिएला भन्ने चिन्ताले पुरानो पन्छाउने र साहुजीले किस्ताको रिस्तालाई अनुमोदन गरेभने नयाँ भित्र्याउने मनसायले अत्यन्त उत्सुकतापूर्वक सोधनी गरे, ‘यो मोटरसाइकललाई कति पर्‍यो हजुर ?’

राजकुमार लामिछाने

उहाँले नाकको पोहोराबाट लामो सासको फोहोरा निकाल्दै भन्नुभयो, ‘हेर्नोस यो मोटरसाइकलको ठूलो कहानी छ ।’
मैले पुनः प्रश्न गरेँ, ‘कस्तो कहानी हजुर ?’
उहाँले कहानी शुरु गर्नुभयो, ‘छोराले कक्षा ८ मा पढ्दादेखि नै मोटरसाइकलको माग गरेको । मैले एसएलसीमा डिस्टिङ्सन आयो भने किनी दिउँला भनेर हौसला दिएको थिएँ । नभन्दै उसले सोही डिभिजनमा पास गर्‍यो । खुशीले मनै झुसी भयो ।’
त्यसपछि बधाईको लर्को कति हो कति । फेसबुकको कमेन्टमा ठेस लाएर साध्य भएन । केहि दिन त बधाई भित्र्याउँदा भित्र्याउँदै बित्यो । त्यसपछि उसले आफ्नो पुरानै माग तेर्स्याई हाल्यो, ‘बुबा मोटरसाइकल किन्नभ कहिले जाने ?’
माहोल केही मत्थर गर्ने विचारले, ‘पहिला क्याम्पस भर्ना हुने, त्यसपछि किनौंला नि बाबु’ भनेर उसको ध्यानलाई क्याम्पस तिर मोडेँ ।
छोरालाई राम्रो क्याम्पसमा पढाउनु पर्छ भनेर सबै क्याम्पस चहारेँ । बल्लबल्ल ससुराले चिनेको एउटा क्याम्पसमा भनसुन गरेर निःशुल्क साइन्सतर्फ भर्ना गरियो ।
उसले पढ्दै गयो । तर बेलाबेलामा उही मोटरसाइकलको दशाले दिमागमा ह्याङ्ग गराउँथ्यो । कतिन्जेल झुक्याउनु ? किनी हालौं भने पनि दुमडी छैन । चाहना भएपनि अनेकौं बहाना बनाउँदै टार्दै र समय सार्दै आएँ ।
क्याम्पसमा गएर बेलाबेलामा उसको पढाइको बारेमा सोधखोज गर्थे । सरहरुले उसको पढाई र चालचलन अत्यन्त राम्रो छ भन्नु हुन्थ्यो । एकदिन घरमा केटी लिएर आएछ । आमा चाहिँको मन न हो नानाथरी शंका–उपशंका गरेर कचकच गर्न थालिन् । यसो बुझ्दा सँगै क्याम्पस पढ्ने साथी रहिछन् । साथी/साथी सँगै हिँड्दा केहि त हुँदैन थियो । तर उनी रहिछिन् अत्यन्त गरिब परिवारकी । साथी भन्दाभन्दै भोलि तलमाथि प¥यो भने परेन फसाद । न कुलघरान न दाइजो । अनि, “आफू ताक्छु मुडो, बञ्चरो ताक्छ घुँडो “भनेझैं हुन के बेर ? त्यसैले आईएस्सी सक्ने बित्तिक्कै आ छोरालाई काठमाडौं बिएस्सी पढाउने विचारले सो क्याम्पसबाट निकालियो भन्दै थिए त्यतिनै बेला “तरकारी किन्न गएको मान्छे कहाँ हराएको’ भनेर श्रीमतीले घरबाट फोन गरेकोले तरकारी पुर्‍याउने बहानामा टाप ठोकेँ । उनी ए ए… भन्दै थिए ।

केही दिनपछि म दाउन्ने देवीको दर्शन गर्न गएको थिएँ । उनी पनि मोटरसाइकल पुजा गर्न गएका रहेछन् । मलाई देख्ने बितिक्कै बोलाई हाले, कतै तर्किने मौका पनि पाइनँ । नाकको डाँडी खुम्च्याउँदै, हजुर पनि यता भनेको थिएँ, हातमा प्रसाद थमाउँदै उहि मोटरसाइकल महिमा शुरु गरे, ‘पहिलाको क्याम्पसबाट छोरालाई निकालेपछि काठमाडौंको त्रिचन्द्र क्याम्पस तिर लागियो । सो क्याम्पसमा इन्ट्रान्समा नाम निकाल्न पर्दो रहेछ । बल्ल–बल्ल नाम त निकाल्यो तर समस्या आइपर्‍यो, भर्ना कसरी गर्ने ? छात्रवृत्तिका लागि केही कोटा त छुट्यायइएको हुँदो रहेछ तर सबै पार्टीको सोर्स फोर्स चल्ने । फेरी चक्कार चल्यो कुन चाहिँ नेताको पाउमा पर्ने भनेर ।’

दियोमा तेल थपेझैं उनी थप्दै थिए, ‘हेर्नोस् चिनेका नेता नभएका होइनन् । तर यस्तोमा सस्तो पावरले छुँदैन । रुपैयाँको बिटो खर्च गर्नुभन्दा नेताको भिटो लगाउनु नै बेस भन्ने कुरालाई गेस गरी लागेँ चिनजानका नेताको निवासतर्फ ।
खालीहात के जानु भनेर हल्का कोसेलीपात टक्राउँदै नेताजीलाई अभिभादन गरेँ । ‘अरु इष्टले ल्याइदिएको त टेष्ट गरेको छैन, यत्रो किन ल्याउनु पथ्र्यो ?’ भन्दै विभिन्न ब्राण्डका मालहरु देखाउनु भयो । राती सँगै बसेर हल्का चियर्स पनि गरियो । भोलिपल्टै नेताजीले शिक्षा मन्त्रीकोमा लिएर जानुभयो । मन्त्रीजीको फोनले गजबको काम गर्‍यो । छोरालाई निःशुल्क बिएस्सी पढाउने सङ्कट चाहिँ टर्‍यो । तर…भनेर कुरालाई अझ पर तन्काउँदै थिएँ उनले आफ्नो छट्टु आसमी पनि मन्दिरमा देखेकोले उनी आसामीतिर भिडे, म आफ्नो बाटो हिँडे ।

एक हप्तापछि विजुली अड्डामा बिल तिर्न कुपन लिएर बसिरहेको थिएँ । फूर्तिमान फटकसिले पनि नयाँ मोटरसाइकलमा हरर हुइकिँदै आए । नदेखे पनि हुन्थ्यो भन्दै थिएँ, कताकताबाट देखी हाले । ए तपाई पनि यहाँ ? भन्दै हातमा कुपन तस्र्याउँदै मेरै छेउमा आएर टुसुक्क बसे ।
‘लिसाबाट उम्कियो पासामा, पासाबाट उम्कियो लिसामा’ भनेझैं नसुनौं आफैँले मोटरसाइकलको दाम कति पर्‍यो भनेर सोधेको, सुनौं भने कहिल्यै नटुङ्गिने उनको रामकहानी कतिञ्जेल सुन्नु ?

बुझ्नु भो लामिछाने जी, त्यो मेरो आसामी माको फटाहा । सुत्केरी उतार्न सकिन, पाँच महिनामा तिर्छु हजुर भनेर पाँच हजार लगेको पाँच वर्ष भयो । आजभोलि तिर्छु भन्छ, तर कहिल्यै तिर्दैन । अस्ती मन्दिरमा सातो बोलाएको, फेरी एक महिनाको भाखा सारेर सुइँकुच्चा ठोक्यो । यस्ता लुच्चाकोपछि कति लाग्नु ? पैसा दिने माम्लोमा चाहिँ अलि छुच्चो नै हुनुपर्ने रहेछ । आफूलाई समस्या परेको बेलामा त्यति भएपनि थपथाप हुन्थ्यो नि भन्दै प्रसङ्ग मोटरसाइकलतिर तेस्र्याई हाले ।

मैले मोटरसाइकल किनी नदिएको भनेर आमासँग पनि गुनोसो गरेछ । ‘उसै त कुन कानमा सुन’ भनेझै आमा चाहिँ गर्दन फुलाएर बसिसाध्य भएन । ‘अरुका छोरालाई बाउले जे भन्यो त्यही पुर्‍याई दिन्छन् । तर हाम्रो छोरालाई जाबो एउटा मोटरसाइकल किनी दिनेभनेर भाखा राखेको पनि बर्षौ बितिसक्यो । विचराको मनमा के को हर्ष होला र पढ्नु ?“ भन्दै रातोदिन कचकच गर्न थालिन् ।
हे फसाद, ‘कतिञ्जेल यसरी बहानाबाजी बनाएर हिँड्ने ।’ अबचाहिँ मोटरसाइकल नकिनी धर नपाइने देखेर रुपैयाँको भर गर्न लागे ।

एउटा साथीलाई केही महिनाको लागि पचाँस हजार सापट मागेको थिएँ । उसले पुग्यो भने विचार गरौंला भनेको थियो । उसलाई फोन लगाएँ तर पचिस हजार भन्दा पुगेन भन्यो । परेन फसाद । ‘यसै ऋण उसै ऋण बुढी बाख्री किन’ भनेझै फेरी अर्को साथीसँग बिलौना गाएँ र रुपैयाँको बन्दोबस्त मिलाएँ ।
त्यसपछि मोटरसाइकल किन्नै भनेर छोरो र म घरबाट निस्कियौं । बजार पुगेपछि मात्र थाहा भयो, त्यो दिन शनिबार रहेछ । आफूले चिनेको मोटरसाइकल सोरुम नै बन्द ।

त्यस्ता मोटरसाइकल पसल बजारमा हजार नभएका होइनन् । तर उसलाई पहिलादेखि चिनेकोले अलि मिलाएर दिनुपर्छ है भनेको थिएँ । उसले आउनोस् न विचार गरौंला भनेर आश्वासन दिएको थियो । त्यो आसले पनि डाँडावास लायो ।
बजारका धेरै पसल डुलियो तर मनपर्दो कहिँ पाउन सकिएन । बाबु अर्को दिन किनौँला भनेको त, ‘तपाईको भर छैन, आजै किन्ने हो । साइत गरेर हिँडेपछि पनि त्यसै फर्किन मिल्छ ?’ भनेर मरी गए मानेन ।
लौ त नि भनेर सोधखोज गर्दै हिँडेको बल्लबल्ल एउटा सोरुम फेला पर्‍यो । त्यहाँ धेरै प्रकारका मोटरसाइकलहरु पाइँदो रहेछ । छोरालाई कुन किन्ने् हो छान भनेको उस्ले हेवीमा पनि रातोकलरको छान्यो । आफ्नो मनले पनि ठीकै मान्यो । साहुजीसँग थोरै बार्गेनिङ्ग गरेपछि मोल पनि मिल्यो । ‘यो मोटरसाइकलले ठ्याम्मै दुईलाख निल्यो“ भनेर तीन दिनको बकनफुसे बहसपछि बल्लदाम बताउने काम भयो ।

धेरैपछि उहाँलाई एउटा होटलमा दुई चार जना वरिपरी राखेर नास्ता खाइरहनु भएको देखेँ । ‘ओहो हजुर कता’ भनेर सोधौंकी जस्तो लागेको थियो । झल्याँस्स उही पुरानो कहानी सम्झेँ र हत्त–न–पत्त नमस्कार ठोकेर टाप कसेँ । तपाई पनि कसैसँग केही कुरा कोट्याउँदा ख्याल गर्नोस् है नत्र उहि मेरै जस्तो हाल पर्ला ।
इति

Exit mobile version