Home कला संस्थागत विद्यालयका शिक्षक, कर्मचारीको राष्ट्रिय कवि गोष्ठी

संस्थागत विद्यालयका शिक्षक, कर्मचारीको राष्ट्रिय कवि गोष्ठी

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) राष्ट्रिय समिति, प्रकाशन विभागको आयोजनामा ‘संस्थागत विद्यालयः श्रम र सरोकार’ विषयक दुई दिवसीय राष्ट्रव्यापी कवि गोष्ठी सम्पन्न भएको छ । भदौ १३ र २० गते दुईदिन आयोजित कवि गोष्ठीमा सात वटै प्रदेशबाट संस्थागत विद्यालयमा कार्यरत ५० जना शिक्षक–कर्मचारीले आआफ्ना पेसागत समस्या तथा इस्टुका माध्यमबाट आफूहरूले गरिरहेको सङ्घर्षबारे हाइकु, मुक्तक, गजल, गीत, कविता आदि विविध विधाका रचना वाचन गरेका थिए ।

कार्यक्रममा हरेक प्रदेशबाट अतिथि कविहरूलाई समेत निम्त्याएर प्रत्येक कविका दुई दुई वटा कवितासमेत प्रस्तुत गरिएको थियो । अतिथि कविहरूमा प्रदेश नम्बर १ बाट वीरेन्द्र थोक्लिहाङ, प्रदेश नम्बर २ बाट रेणु गुप्ता, बागमती प्रदेशबाट पुरुषोत्तम आचार्य, गण्डकी प्रदेशबाट प्राञ्जल, प्रदेश नम्बर ५ बाट छविलाल कोपिला, कर्णाली प्रदेशबाट सीता यरी र सुदूरपश्चिम प्रदेशबाट सोझो गाउँलेलाई आमन्त्रण गरिएको थियो । भदौ १३ प्रदेश नम्बर १, २ र बागमती प्रदेश विशेष साथै भदौ २० गते गण्डकी, प्रदेश नम्बर ५, कर्णाली तथा सुदूरपश्चिम प्रदेश विशेष कार्यक्रम गरिएको थियो ।

बौद्धिक श्रमिकका रूपमा देशभर रहेका ६ हजार बढी संस्थागत विद्यालयमा क्रियाशील दुई लाख बढी शिक्षक–कर्मचारीलाई संस्थागत विद्यालयको शैक्षिक गुणस्तर एवम् पेसागत सुरक्षामा पक्षमा निरन्तर वकालत गर्दै आइरहेको एकमात्र साझा सङ्गठन ‘संस्थागत विद्यालय शिक्षक युनियन’ (इस्टु) मा आबद्ध भई पेसागत अधिकारबारे आवाज बुलन्द गर्न उत्प्रेरित गर्ने तथा निकट भविष्यमा प्रकाशन गर्न लागिएको स्मारिकामा रचना प्रकाशन गर्ने उद्देश्यले यस किसिमको रचनात्मक कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक इस्टु राष्ट्रिय समिति सचिव एवम् प्रकाशन विभाग प्रमुख दीपक गौतमले जानकारी दिनुभयो ।

प्रकाशन विभाग प्रमुख दीपक गौतमको अध्यक्षता एवम् इस्टु राष्ट्रिय समिति अध्यक्ष होमकुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा इस्टुका प्रमुख संरक्षक मुकुन्द गौतम, प्रमुख सल्लाहकार इन्द्रराज भट्टराई, उपाध्यक्ष एवम् सङ्गठन विभाग प्रमुख देवीदत्त पौडेल, उपाध्यक्ष एवम् तालिम विभाग प्रमुख अमल राई, महिला विभाग इन्चार्ज अञ्जु गौतम, महासचिव भोलानाथ चालिसे, सचिव एवम् महिला विभाग संयोजक सरिता निरौला लगायतले समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण राष्ट्रिय समिति सदस्य एवम् प्रकाशन विभाग सहसंयोजक ध्रुव पौडेलले गर्नुभएको थियो । भर्चुअल माध्यम (जुम) बाट भएको कार्यक्रममा इस्टु राष्ट्रिय समिति, प्रदेश समिति तथा सम्पूर्ण जिल्ला समितिका पदाधिकारी, सदस्य एवम् देशभरबाट शिक्षक–कर्मचारीको उपस्थिति रहेको थियो ।

Exit mobile version