बसन्त भण्डारी
हेटौँडा : नेपाल सरकारले परीक्षणका रूपमा लागू गरेको आइतबारको सार्वजनिक बिदा हेटौँडामा प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । सरकारी विद्यालय बन्द रहेका बेला हेटौँडाका केही निजी विद्यालय भने आइतबार पनि नियमित रूपमा सञ्चालन भइरहेका छन् । बालजागृति, नवोदय, ज्ञानोदय, जेनिथ, जेम्स, सोलिड्यारिटी र सत्यम जेभियर्स लगायतका निजी विद्यालयले आइतबार कक्षा सञ्चालन जारी राखेपछि संघीय सरकारको निर्णय कार्यान्वयनमा स्थानीय स्तरमै असमानता र प्रशासनिक अन्योल देखिएको छ ।
सरकारले ऊर्जा बचत, सार्वजनिक खर्च कटौती तथा प्रशासनिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित परीक्षणको रुपमा हप्तामा दुई दिन सार्वजनिक बिदाको अभ्यास सुरु गरेको थियो । सोही निर्णयअनुसार आइतबार सार्वजनिक बिदा कायम गरिएको भए पनि विद्यालय शिक्षा क्षेत्रका लागि स्पष्ट कार्यविधि नआउँदा स्थानीय तह र विद्यालय प्रशासन अन्योलमा परेका हुन् । विशेषगरी निजी विद्यालयहरूले कोर्स नसकिने, शैक्षिक क्यालेन्डर प्रभावित हुने तथा प्रतिस्पर्धात्मक दबाब बढ्ने कारण देखाउँदै विद्यालय सञ्चालन जारी राखेका छन् ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले आइतबारको बिदाले विद्यालयको शैक्षिक क्यालेन्डर र पाठ्यक्रम प्रभावित हुन नदिन स्थानीय तहले स्पष्ट योजना बनाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार शिक्षा मन्त्रालयले वार्षिक बिदा कटौती गर्ने वा पाठ्यक्रम व्यवस्थापन गर्ने विषयमा गृहकार्य गरिरहेको छ । ‘केही विद्यालय खुल्ने र केही बन्द रहने अवस्थाले अन्योल सिर्जना गरेको छ’, उहाँले भन्नुभयो, ‘यस विषयमा स्थानीय तह र शिक्षा शाखासँग समन्वय भइरहेको छ ।’
प्रजिअ अधिकारीले सरकारी विद्यालय बन्द हुने तर निजी विद्यालय सञ्चालन भइरहने अवस्था राम्रो संकेत नभएको उल्लेख गर्नुभयो । उहाँका अनुसार जिल्लाका सबै स्थानीय तहले एउटै नीति अपनाउनुपर्ने आवश्यकता छ । ‘आइतबार खेलकुद वा अतिरिक्त क्रियाकलापका लागि प्रयोग गर्ने कि नियमित कक्षा सञ्चालन गर्ने भन्ने विषयमा शिक्षा मन्त्रालयको स्पष्ट निर्देशन आउन बाँकी छ’, प्रजिअ अधिकारीले भन्नुभयो, ‘तर स्थानीय सरकारले सरोकारवालासँग छलफल गरेर व्यवहारिक निर्णय लिन सक्छ ।’
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले विद्यालय शिक्षा व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिएको भए पनि सार्वजनिक बिदा कार्यान्वयन र विद्यालय सञ्चालनसम्बन्धी स्पष्ट कार्यविधि भने अझै देखिएको छैन । यसबीच हेटौँडा उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख तथा वरिष्ठ विद्यालय निरीक्षक हरिचन्द्र सापकोटाले सार्वजनिक बिदाका दिन विद्यालय सञ्चालन गर्न नगरपालिकाले हालसम्म कुनै औपचारिक अनुमति नदिएको स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार संघीय सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय लागू गरेपछि स्थानीय तह पनि त्यसैअनुसार अघि बढिरहेको भए पनि विद्यालय सञ्चालनबारे स्पष्ट कार्यविधि अझै तयार भइसकेको छैन । ‘उपमहानगरपालिकाले विद्यालय खोल्न अनुमति दिएको अवस्था होइन’, उहाँले भन्नुभयो, ‘अहिले हामी छलफल र समन्वयकै चरणमा छौँ ।’
तर व्यवहारमा भने हेटौँडाका धेरै निजी विद्यालय आइतबार पनि सञ्चालन भइरहेका छन् । निजी विद्यालय सञ्चालकहरूका अनुसार एउटै क्षेत्रमा केही विद्यालय खुल्ने र केही बन्द रहने अवस्था सिर्जना भएपछि अभिभावकबाट दबाब आउन थालेको छ । जीएस निकेतन विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष तथा संस्थागक विद्यालय अभिभावक संघ मकवानपुरकी अध्यक्ष रामिला सापकोटाले निजी विद्यालयहरूले सरकारको निर्णय अस्वीकार गर्ने उद्देश्यले नभई व्यवहारिक दबाबका कारण विद्यालय सञ्चालन गर्नुपरेको बताउनुभयो । उहाँका अनुसार सुरुका केही सातासम्म धेरै विद्यालयले आइतबार बिदा कार्यान्वयन गरेका थिए । तर छिमेकी विद्यालय खुल्न थालेपछि अभिभावकहरूले आफ्ना बालबालिका पछाडि पर्ने चिन्ता व्यक्त गर्न थालेका थिए । ‘एउटा विद्यालय बन्द हुने र अर्को विद्यालय खुल्ने अवस्था भएपछि अभिभावकबाट ठूलो दबाब आयो’, उहाँले भन्नुभयो, ‘शिक्षामा एकरूपता नभएसम्म यस्तो अन्योल कायम रहन्छ ।’
अध्यक्ष सापकोटाले सामुदायिक विद्यालय बन्द रहने तर निजी विद्यालय खुल्ने अवस्थाले शिक्षामा विभेद झन् गहिरिने चेतावनी दिनुभयो । उहाँका अनुसार आर्थिक रूपमा कमजोर परिवारका बालबालिका घरमै बस्नुपर्ने तर निजी विद्यालयका विद्यार्थी नियमित कक्षामा सहभागी हुन पाउने अवस्था सिर्जना हुँदा धनी र गरिबबीचको शैक्षिक दूरी बढ्ने खतरा देखिएको छ । उहाँले स्थानीय सरकार, प्याब्सन र शिक्षा सरोकारवालाबीच समन्वय गरेर जिल्लाभर एउटै नीति लागू गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
यसैबीच स्थानीय अभिभावक सुष्मा देवकोटासँग गरिएको कुराकानीमा पनि दुई दिने बिदाप्रति अभिभावकको व्यावहारिक गुनासो देखिएको छ । देवकोटाले आफू व्यापार व्यवसायमा संलग्न भएकाले बच्चालाई घरमा राख्न कठिन हुने बताउँदै विद्यालय नै बच्चाका लागि उपयुक्त स्थान भएको धारणा राख्नुभयो । उहाँका अनुसार छिमेकी विद्यालय सञ्चालन भइरहँदा आफ्ना बालबालिका पछाडि पर्ने डर अभिभावकमा बढेको छ । ‘विद्यालयले कोर्स सकिन्न भनेर हतार गरिरहेको छ’, उहाँले भन्नुभयो, ‘हप्तामा चार दिन पढाएर मात्र पुग्छ जस्तो लाग्दैन । पहिल्यै हाम्रो बालजागृतिमा शुक्रबार ‘बुक फ्रि फ्राइडे’ हुन्छ ।’
उहाँले लगातार दुई दिन कक्षा नहुँदा बालबालिकाको पढाइको लय बिग्रने र अतिरिक्त क्रियाकलापमै समय बढी जाने अवस्था देखिएको बताउनुभयो । साथै सरकारले अनिवार्य रूपमा बिदा कार्यान्वयन गराए आफूहरू त्यसको विरोधमा नरहने पनि उहाँले स्पष्ट पार्नुभयो । ‘सरकारले केही सोचेरै यस्तो निर्णय लिएको हुन सक्छ’, उहाँले भन्नुभयो, ‘तर फेरि विद्यालयले पठाउनुपर्छ भन्यो भने पनि हामी बच्चालाई घरमै राख्दैनौँ ।’ शिक्षा क्षेत्रका जानकारहरू भने संघीय सरकारको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न विद्यालय शिक्षासम्बन्धी स्पष्ट कार्यविधि र एकीकृत नीति आवश्यक रहेको बताउँछन् ।
