हेटौँडा : भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले लोकगायक राजु परियारसहित विभिन्न व्यक्तित्वहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । आइतबार हेटौँडामा प्रतिष्ठानको साधारणसभासहितको विशेष समारोह आयोजना गर्दै प्रतिष्ठानले एक संस्थासहित ८ जनालाई पुरस्कृत गरेकोे हो ।
प्रतिष्ठानले लोकगायक परियारलाई रामकृष्ण बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार, २०८२ प्रदान गरेको छ । २० हजार रुपैयाँ राशि रहेको यो पुरस्कार चुनु बानियाँले स्थापना गर्नुभएको हो । प्रतिष्ठानले तुलसीमाया–शिवकुमारी सृजनशील नारी पुरस्कार, २०८२ मकवानपुरकी हस्तकला प्रशिक्षक रविना श्रेष्ठलाई प्रदान गरेकोे छ । मुक्तिगोविन्द वैद्यले स्थापना गर्नुभएको यस पुरस्कार राशि १५ हजार रुपैयाँ रहेको छ । यस वर्षको शिला नारी पुरस्कार, २०८२ मकवानपुरकी साहित्यकार तथा रङ्गकर्मी संगीता थापा मगरले प्राप्त गर्नुभएको छ । आशीष श्रेष्ठले स्थापित गर्नुभएको यो पुरस्कार राशि १५ हजार रुपैयाँ रहेको छ । चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार, २०८२ साहित्य सङ्गम मकवानपुरलाई प्रदान गरिएको छ । रामबहादुर पाख्रिनद्वारा संस्थापन गरिएको यो पुरस्कारको राशि १५ हजार रहेको छ ।
यसैगरी, मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार, २०८२ हेटौँडा ६ का स्वास्थ्यकर्मी राजु गुरुङलाई प्रदान गरिएको छ । देवप्रसाद श्रेष्ठ र दीपकप्रसाद श्रेष्ठले संयुक्तरुपमा स्थापना गर्नुभएको यो पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ । कोभिड–१९ को समयमा संक्रमितहरुलाई अनवरत रुपमा सेवा गरेकोमा गुरुङलाई पुरस्कार प्रदान गरिएको हो । अजित सेन गुप्ता भिन्न क्षमता पुरस्कार, २०८२ थाहा नगरपालिका मकवानपुरका चित्रकार अमिर बोम्जनलाई प्रदान गरिएकोे छ । रोशन सेन गुप्ताले स्थापना गर्नुभएको यो पुरस्कार राशि १० हजार रुपैयाँ रहेको छ । फरक शारीरिक अवस्थाका बाबजुद पनि उत्कृष्ट चित्रहरु रचना गर्ने बोम्जनलाई पुरस्कार दिइएको हो ।
१० हजार रुपैयाँ पुरस्कार राशि रहेको इन्द्रकुमार कोजु स्मृति पुरस्कार, २०८२ नवोदित भलिबल खेलाडी अप्सना उप्रेतीलाई प्रदान गरिएकोे छ । चम्पा कोजु संस्थापक रहनुभएको उक्त पुरस्कार ज्ञानोदय बालबाटिकामा अध्ययनरत उप्रेतीलाई प्रदान गरिएको हो । यस्तै, भीम–मथुरा बाल प्रतिभा पुरस्कार, २०८२ हेटौँडाको सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीमा अध्ययनरत उदीयमान गायिका अक्सा खातुनलाई प्रदान गरिएको छ । १० हजार राशि रहेको यो पुरस्कारका संस्थापक विन्दुगोपाल गोर्खाली हुनुहुन्छ । कार्यक्रममा पुरस्कृत हुनुभएका लोकगायक परियार तथा खातुनले आफ्नो गायन प्रस्तुत गर्नुभएको थियो । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले विभिन्न क्षेत्रका स्रष्टा तथा कलाकारहरुलाई सम्मान प्रदान गर्दै प्रतिष्ठानले मकवानपुरे साहित्य कलाको क्षेत्रमा पहिचान बनाएको बताउनुभयो । उहाँले हेटाँैंडा उपमहानगरपालिकाले पनि छिट्टै साहित्य महोत्सव गरेर साहित्य कलाको क्षेत्रमा उपमहानगरपालिकाले लगानी गर्न चाहेको बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जन, प्रतिष्ठानकी सल्लाहकार सुशीला पाण्डे, साहित्यसेवी मुक्तिगोविन्द बैद्यलगायत कला, संगीत तथा साहित्यको क्षेत्रमा सक्रिय व्यक्तित्वहरुको उपस्थिति थियो । नेपाली सङ्गीत, साहित्य र कला क्षेत्रमा परिचित वरिष्ठ कलासाधक भीम विरागको बहुआयामिक व्यक्तित्वको सम्मानस्वरुप विसं २०५९ भाद्र ७ गते यस प्रतिष्ठानको स्थापना भएको हो । प्रतिष्ठानले मकवानपुरको माटोबाट वार्षिकरुपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान समर्पण गर्दै आइरहेको छ । देश तथा विदेशमा रही नेपाली वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आउनुभएका सर्जक, स्रष्टाहरूलाई सम्मानित एवम् पुरस्कृत गर्दै आइरहेको छ ।
प्रतिष्ठानको अध्यक्षमा पुनः श्रेष्ठ
हेटौँडा : भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानको अध्यक्षमा पुनः केशवलाल श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । आइतबार सम्पन्न प्रतिष्ठानको २१ औं वार्षिक साधारणसभा तथा ८ औँं अधिवेशनले श्रेष्ठलाई पुनः अध्यक्ष बनाएको हो । प्रतिष्ठानको उपाध्यक्षमा श्यामकुमार बानियाँ, महासचिवमा माधवबहादुर पोखरेल, कोषाध्यक्षमा दिनेश सुवेदी र सचिवमा आशा ढकाल चयन हुनुभएको छ ।
सदस्यहरुमा गहन चौलागाईं, बालकृष्ण चौलागाईं, पदमलाल श्रेष्ठ, शर्मिला श्रेष्ठ, अञ्जन दाहाल, प्रल्हाद मिश्र र गोपिनी गौतम चुनिनुभएको छ । आइतबार प्रतिष्ठानले विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई पुरस्कृतसमेत गरेको छ । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कला तथा साहित्यपे्रमीहरुको उपस्थिति रहेको थियो ।
