हेटौँडा : बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौँलाई जोड्ने सबैभन्दा छोटो दुरीको ‘फाखेल–मातातीर्थ–सतुंगल’ सडक निर्माण कार्य सुस्त देखिएको छ । सामरिक महत्वको वैकल्पिक मार्गका रुपमा रहेको १४ किलोमिटर लम्बाइको ‘फाखेल–मातातीर्थ–सतुंगल’ सडक निर्माण सुरु भएको ७ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।
प्रदेश सरकारको ‘गौरवको आयोजना’ र प्रदेश सडक गुरुयोजनामा समेटिएको उक्त सडक निर्माणमा ढिलाइ भएको हो । बागमती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको उक्त सडक काठमाडौं–हेटौंडा जोड्ने छोटो दुरीको मार्ग हो । यो सडकको इतिहास निकै लामो छ । तत्कालीन जिल्ला विकास समिति काठमाडौँले २०५५ सालमा यसको ट्रयाक खोल्ने काम सुरु गरेको थियो । भौगोलिक विकटता र पर्याप्त बजेटको अभावमा ट्रयाक खोल्नै झन्डै १२ वर्ष लाग्यो । ट्रयाक खुलेको करिब एक दशकसम्म सडकको स्तरोन्नति हुन सकेको थिएन ।
प्रदेश सरकारले उक्त सडकलाई प्राथमिकताका साथ अघि बढाउँदै २०७६ जेठ १७ गतेबाट निर्माण थालेको थियो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बजेट विनियोजन गरी सडकलाई स्तरोन्नति सहित आधुनिक र सुविधासम्पन्न बनाउने गरी काम अघि बढाइएको थियो । तर, निर्माण थालिएको ७ वर्ष अवधि पुरा हुँदा समेत उक्त कार्य सम्पन्न हुन सकेको छैन । कुल १४ दशमलव ४ किलोमिटर लम्बाइको उक्त सडकलाई प्रभावकारी रुपमा सम्पन्न गर्न मकवानपुर र काठमाडौँ गरी दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो । तर, उक्त सडकको प्रगति सन्तोषजनक हुन सकेको छैन ।
मकैबारीदेखि मातातीर्थसम्मको ८ दशमलव १ किलोमिटर सडक खण्डको कार्य प्रगति न्युन देखिएको छ । पूर्वाधार विकास कार्यालय ललितपुरमार्फत अमर कन्स्ट्रक्सनले २०७६ मा भ्याटसहित करिब २८ करोड रुपैयाँमा यसको ठेक्का लिएको उक्त खण्डको काम लक्ष्य अनुसार हुन सकेको छैन । सम्झौताअनुसार काम नहुँदा कम्पनीले हालसम्म पटक–पटक गरी ५ पटक म्याद थपिसकेको छ । तर, प्रगति भने सुस्त छ । पूर्वाधार विकास कार्यालय ललितपुरका प्रमुख राजु श्रेष्ठका अनुसार निर्माण कम्पनीले हालसम्म भौतिक प्रगति ६७ प्रतिशत र वित्तीय प्रगति ६६ दशमलव ०२ प्रतिशत रहेको उनले बताए । काममा चरम ढिलासुस्ती भएपछि प्रदेश सरकारले निर्माण कम्पनीलाई ठेक्का रकमको १० प्रतिशत जरिवाना लगाएको छ । यातायात पूर्वाधार निर्देशनालयका प्रमुख नवीन सिंहका अनुसार उक्त जरिवाना रकम निर्माण कम्पनीले पाउने भुक्तानीबाट कट्टा गरिनेछ । निर्माण कम्पनीले पछिल्लो पटक बैशाख मसान्तसम्म काम सक्ने प्रतिबद्धता जनाए पनि उक्त अवस्था नरहेको उनले बताए ।
मकवानपुर खण्ड अन्तिम चरणमा
सो सडक अन्तर्गत मकवानपुर तर्फको खण्डको काम भने अन्तिम चरणमा पुगेको छ । मकवानपुर खण्डमा सदाशिव हिमाल कन्स्ट्रक्सनले २०८० जेठमा २ वर्षभित्र काम सक्ने गरी करिब १८ करोड ४६ लाख रुपैयाँ लागतमा सम्झौता गरेको थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि आगामी जेठ २५ गतेसम्मका लागि एक वर्ष म्याद थप गरिएको थियो । सो खण्डमा हालसम्म भौतिक प्रगति ९० प्रतिशत र वित्तीय प्रगति ७२ दशमलव ३५ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयका प्रमुख सुजन भण्डारीका अनुसार सडक चौडाइ, सब–बेस, कल्भर्ट, टेवा पर्खाल र नाली निर्माणका काम सम्पन्न भइसकेका छन् भने बेस ओछ्याउने काम ८० प्रतिशत पूरा भएको छ । हालसम्म करिब तीन किलोमिटर सडक कालोपत्रे तथा ढलान भइसकेको र बाँकी रहेको ३ दशमलव ३ किलोमिटर सडक बैशाखसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालय प्रमुख भण्डारीले बताए । महालक्ष्मी खोलादेखि काठमाडौँको कलंकीसम्म करिब २० किलोमिटर दूरी रहने उक्त सडक समयमै सम्पन्न हुन सकेमा काठमाडौँ–हेटौँडा यात्रा छोटो र सहज हुने अपेक्षा गरिएको छ । प्रदेश राजधानी र संघीय राजधानी जोड्ने अन्य मार्गमध्ये यो सबैभन्दा छोटो दूरीको मार्ग मानिन्छ ।
हेटौँडाबाट कुलेखानीसम्म एउटै मार्ग प्रयोग गर्नुपर्ने हुन्छ । त्यसपछि सिस्नेरी–दक्षिणकाली, फाखेल–हुमाने–फर्पिङ र महालक्ष्मीखोला–मातातीर्थ गरी तीन विकल्पमध्ये यो मार्ग सबैभन्दा छोटो रहेको छ । चखेल क्षेत्र तरकारी पकेट क्षेत्रका रुपमा विकास भइरहेकाले सो क्षेत्रको उत्पादित तरकारी काठमाडौँको कालिमाटीसम्म सहज रुपमा ढुवानी गर्न तथा आवतजावतलाई थप सहज बनाउन यो सडक महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
