हेटौँडा : सरकारले आज सोमबारदेखि देशभर ‘राष्ट्रिय सरसफाई सप्ताह’ सुरु गर्दैछ । १ जेठसम्म सञ्चालन हुने अभियानअन्तर्गत मकवानपुरमा पनि सबै सरकारी कार्यालयमा बिहान साढे ८ बजेदेखि सरसफाई कार्यक्रम सुरु गरिने भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार जिल्लाका सरकारी कार्यालयलाई ५१ वटा सूचकका आधारमा मूल्यांकन गरी ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा वर्गीकरण गरिनेछ ।
मूल्यांकनमा कार्यालय सरसफाइ, शौचालय व्यवस्थापन, स्वच्छ खानेपानी, हेल्प डेस्क, सेवाग्राहीसँगको व्यवहार, फोहर व्यवस्थापन तथा बिचौलियाको प्रवेश नियन्त्रणजस्ता विषय समावेश गरिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ‘सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गनिर्देशन-२०८३’ जारी गर्दै संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायमा अभियान सञ्चालन गर्न निर्देशन दिएको हो । सोही समयमा देशभरका सरकारी कार्यालय तथा अस्पतालमा सरसफाई कार्यक्रम सुरु हुने जनाइएको छ । मार्गनिर्देशनमा कार्यालय सरसफाइ, शौचालय तथा स्वच्छता, शैक्षिक संस्था र सार्वजनिकस्थलको सरसफाइ, चमेनागृह तथा भान्साघरको स्वच्छता, फोहर व्यवस्थापन, सेवाग्राही अनुभव तथा संस्थागत दिगोपनसम्बन्धी सूचक अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ ।
प्रजिअ अधिकारीले मकवानपुरका कार्यालय प्रमुखहरूको समूहमा नेपाल सरकारको निर्णय पठाइसकिएको र जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई समेत अभियानमा सहभागी हुन निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार सरसफाई सप्ताह केवल बाहिरी सफाइको कार्यक्रम नभई सरकारी कार्यालयभित्रको समग्र सेवा वातावरण सुधार गर्ने उद्देश्यसहित सञ्चालन गर्न लागिएको हो । ‘सेवाग्राही आउने कार्यालयमा शौचालय फोहोर हुनुहुँदैन’, उहाँले भन्नुभयो, ‘कार्यालय प्रमुख आफैंले शौचालयको अवस्था हेर्नुपर्छ । कार्यालयमा स्वच्छ खानेपानी, व्यवस्थित प्रतिक्षालय, हेल्प डेस्क र नागरिकमैत्री वातावरण हुनुपर्छ ।’
प्रजिअ अधिकारीका अनुसार जिल्लाका सरकारी कार्यालयमा ‘इम्प्लोई अफ द मन्थ’ कार्यक्रम पनि सञ्चालन गरिनेछ । सेवाग्राहीसँगको व्यवहार, इमान्दारिता र सेवा प्रवाहका आधारमा उत्कृष्ट कर्मचारी छनोट गरी कार्यालयको हेल्प डेस्कमा तस्वीर राखिने व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो । उहाँले सरकारी कर्मचारी अझै पनि ‘शासकीय मानसिकता’ बाट पूर्णरूपमा बाहिर ननिस्किएको टिप्पणी गर्दै सेवा प्रवाहमा व्यवहार परिवर्तन आवश्यक रहेको बताउनुभयो । ‘हामी शासक होइनौं, जनताका सेवक हौं’, उहाँले भन्नुभयो, ‘जनताको मुहारमा खुसी दिन सक्यौं भने त्यो नै सबैभन्दा ठूलो सेवा हो ।’ प्रजिअ अधिकारीले सेवाग्राहीलाई पनि आवश्यक कागजात र प्रक्रिया बुझेर कार्यालय आउन आग्रह गर्दै कर्मचारीबाट अनावश्यक दुःख, अतिरिक्त लाभ माग्ने वा झन्झट सिर्जना गर्ने काम भए सम्बन्धित कार्यालय प्रमुख वा जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न आग्रह गर्नुभएको छ ।
