Home मुख्य समाचार चुनौतीपूर्ण बालविवाह

चुनौतीपूर्ण बालविवाह

बालविवाह भन्नाले कानुनले तोकेको उमेर नपुगी वा बाल्यावस्थामा गरिने विवाह हो । नेपालमा विद्यमान कानुनअनुसार विवाह गर्नेमध्यै एक वा दुबैजनाको उमेर २० बर्षभन्दा मुनिको विवाह बालविवाह हुन्छ । मुलुकी ऐन २०२० बाटै बालविवाह गर्न कानुनीरुपमा रोक लगाइएको भए पनि बालविवाह कायमै थियो । पहिला–पहिला धार्मिक परम्परा तथा मान्यता स्वीकार गरेर आमाबाबुले सानै उमेरमा छोरीको विवाह गरिदिने प्रचलनले बालविवाह न्यूनीकरण चुनौतीपूर्ण थियो । नेपालको संविधान, २०७२, मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता, २०७४, बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालविवाहमा प्रतिबन्ध लगाएको छ । बालविवाह गरेको उजुरी परेमा विवाह बदर हुने व्यवस्था कानुनमा छ । बालविवाह गर्ने वा गराउने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्थासमेत कानुनमा छ ।

नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय सन्धिसम्झौताले बालविवाहका दोषीलाई कारवाही तथा पीडितलाई पर्याप्त परिपूरण प्रदान गर्नुपर्ने दायित्व सरकारको हुने व्यवस्था छ । थुप्रै कानुनले दण्डनीय अपराधको रुपमा व्यवस्था गरेको बालविवाह न्यूनीकरण हुन नसक्नु चुनौतीपूर्ण देखिएको छ । मकवानपुर जिल्लाका चार वटा स्थानीय तहले बालविवाहमुक्त पालिकाका साथै बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरे पनि बालविवाह जस्ताको त्यस्तै रहेको पाइन्छ । बालमैत्री घोषणा भएर दिगोपनका लागि काम भइरहेका पालिकाहरुमै बालविवाह न्यूनीकरण हुन नसक्नुले चुनौती बढाएको हो । बालविवाह अन्त्य होइन, कम गर्नसमेत चुनौतीपूर्ण देखिएको छ । बालबालिकाकै चाहना र परिवारको समेत सहमतिमा बालविवाह गरिरहेकाले बालविवाह झन जटिल बनिरहेको हो । अझै पनि २० वर्षसम्म विवाह गर्नेको संख्या एक तिहाईको हाराहारीमा रहेको अनुमान गर्न सकिन्छ ।

बालविवाह र बालन्याय सम्बन्धी हेटौँडामा शुक्रबार भएको अन्तरक्रियामा बालविवाह हुने दर सबैभन्दा बढी मधेश प्रदेशमा ४२ दशमलब ४ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा २९ दशमलब १ प्रतिशत रहेको बताइएको छ । बागमती प्रदेशमा पनि २९ दशमलब ३ प्रतिशत बालविवाह हुने तथ्याङ्क छ । राष्ट्रिय जनगणता २०७८ अनुसार १० देखि १४ वर्ष उमेर समूहका ७ प्रतिशत, १५ देखि १७ वर्ष उमेर समूहका २२ प्रतिशत र १८ देखि २० वर्षसम्मका ३४ प्रतिशतले बालविवाह गर्ने गरेको तथ्याङ्क छ । स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदन २०७९/०८० अनुसार १५ देखि १९ वर्ष उमेर समूहका १७ प्रतिशत आमा बनिसक्ने तथ्याङ्कले पनि बालविवाह र कम उमेरमा सुत्केरी बन्ने अवस्था चिन्ताजनक रहेको पुष्टि गर्दछ ।

बालविवाहबाट गृहस्थी जीवनमा आइपर्ने समस्या र विभिन्न प्रकारका स्वास्थ्य जटिलताको बारेमा बालबालिका पर्याप्त जानकार नहुँदा बालविवाह गर्ने क्रम कम हुन नसकेको हो । बालविवाह विरुद्धको कडा कानुुनी व्यवस्थाले मात्र यो समस्या समाधान हुने सम्भावना देखिँदैन । भएका कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनसँगै बालबालिकालाई विद्यालय तहमै बालविवाह गर्न नहुने सचेतना प्रदान गर्नु उचित हुनेछ । पछिल्लो समय अभिभावकको कारणबाट नभई सामाजिक सञ्जाल तथा अन्य कारणले बालबालिका स्वयम्ले बालविवाह गर्ने प्रचलन बढ्दै गएको पाइन्छ । खेल्ने र पढ्ने उमेरमै विवाह गरेर धेरै बालबालिकाले अनावश्यक पारिवारिक बोझ सहनु परेको छ । बालविवाहकै कारण सानै उमेरमा गर्भवती तथा सुत्केरी बन्दा रोगी भएर बस्नुपर्ने अवस्था छ । बालबालिका स्वयम् बालविवाहप्रति आकर्षित हुनुले राम्रो संकेत गर्दैन । बालबालिका आफैँ सचेत भएर बालविवाह विरुद्ध उभिनुपर्ने देखिन्छ । चुनौतीपूर्ण बन्दै गएको बालविवाह न्यूनीकरणका लागि अभिभावकले आफ्ना बालबालिकाको गतिविधिप्रति चासो दिने र स्थानीय सरकारले प्रभावकारी कार्यक्रम गर्नु उचित हुनेछ ।

Exit mobile version