हेटौँडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज सोमबारदेखि जिल्लाका होटल, रेस्टुरेन्ट, पसल तथा अन्य व्यावसायिक प्रतिष्ठानमा मूल्यसूची अनिवार्य रूपमा राख्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बसन्त अधिकारीका अनुसार मूल्यसूची राखिएको छ वा छैन भन्ने विषयमा एक सातासम्म विशेष अनुगमन गरिनेछ ।
सरसफाई सप्ताहसँगै उपभोक्तामैत्री बजार व्यवस्थापनलाई जोड्दै प्रशासनले यो अभियान सञ्चालन गर्न लागेको हो । प्रजिअ अधिकारीले नेपाल सरकारले मूल्यसूची अनिवार्य रूपमा राख्नुपर्ने सम्बन्धी कार्यविधि तयार गरिसकेको जानकारी दिँदै मकवानपुरमा पनि त्यसको कार्यान्वयन सुरु गरिने बताउनुभयो । ‘होटल, प्रतिक्षालय, रेस्टुरेन्ट र व्यापारीहरूले मूल्यसूची राखेको छ कि छैन भन्ने विषयमा भोलि (सोमबार) बाटै अनुगमन सुरु हुन्छ’, उहाँले भन्नुभयो । प्रशासनका अनुसार उपभोक्ताले वस्तु तथा सेवाको मूल्यबारे स्पष्ट जानकारी नपाउँदा बजारमा मनपरी शुल्क लिने र उपभोक्ता ठगिने गुनासो आउने गरेको छ । त्यसलाई नियन्त्रण गर्न व्यावसायिक प्रतिष्ठानमा स्पष्ट मूल्यसूची राख्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको हो ।
अनुगमनका क्रममा होटल, रेस्टुरेन्ट, चिया पसल, किराना पसल तथा अन्य व्यावसायिक प्रतिष्ठानमा मूल्यसूची टाँसिएको छ कि छैन भन्ने हेरिने प्रशासनले जनाएको छ । मूल्यसूची नराख्ने तथा उपभोक्तालाई भ्रममा पार्ने व्यवसायीलाई प्रचलित कानुनअनुसार कारबाही हुन सक्ने चेतावनीसमेत दिइएको छ । प्रजिअ अधिकारीले मूल्यसूची राख्ने विषय उपभोक्ताको अधिकारसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै व्यवसायीलाई पारदर्शी कारोबार गर्न आग्रह गर्नुभयो । उहाँका अनुसार बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन प्रशासनले नियमित अनुगमनलाई निरन्तरता दिनेछ ।
