Home मुख्य समाचार विद्यार्थी संख्या बढाउनुभन्दा गुणस्तर सुधार गर्ने : प्रधानाध्यापक घिमिरे

विद्यार्थी संख्या बढाउनुभन्दा गुणस्तर सुधार गर्ने : प्रधानाध्यापक घिमिरे

हेटौँडा : हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयले आफ्नै उत्पादनलाई प्राथमिकता दिने उद्देश्यसहित यस शैक्षिक सत्रमा माथिल्लो कक्षामा सीमित विद्यार्थी भर्ना गर्ने नीति अवलम्बन गरेको छ । विद्यालयले तल्लो तहमा विद्यार्थी संख्या बढाउँदै आधारभूत तहको शैक्षिक गुणस्तर सुधारमा विशेष ध्यान केन्द्रित गरेको जनाएको छ । विद्यालयले यस वर्ष नयाँ शैक्षिक सत्रमा स्थानीय विद्यार्थीहरुलाई प्राथमिकता दिएको छ ।

विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेका अनुसार यस शैक्षिक सत्रमा स्थानीय विद्यार्थीको संख्या बढाउने उद्देश्य रहेको छ । विद्यालयमा स्थानीय विद्यार्थीको आकर्षण कम रहेको उहाँको भनाई छ । विद्यार्थी संख्यामा भन्दा पनि यस वर्षबाट शैक्षिक गुणस्तरमा ध्यान दिने प्रधानध्यापक घिमिरे बताउनुभयो ।

गुुणस्तर बढाउनकै लागि अघिल्ला वर्षहरूको तुलनामा यसवर्ष माथिल्लो कक्षामा निकै कम विद्यार्थी भर्ना गरिएको छ । विद्यालयमा विद्यार्थीको चाप बढी भएका कारण कक्षाकोठाको अभाव हुने भएकाले विद्यार्थी भर्ना कम गरेको प्रधानाध्यापक घिमिरेले बताउनुभयो । गत वर्ष २ हजार १ सय जना विद्यार्थी रहेका थिए । बाल कक्षादेखि ३ कक्षासम्म एउटा सेक्सन सञ्चालन गर्दै आएकोमा विद्यार्थी संख्या बढी भएकाले यस वर्षबाट दुई वटा सेक्सन सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।

गतवर्ष कक्षा ६ मा ४ वटा सेक्सन सञ्चालन भए पनि यस वर्ष २ वटा कक्षा सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । कक्षा ७ र ८ मा ४ वटा सेक्सन, कक्षा ९ मा ६ वटा र कक्षा १० मा ५ वटामात्र सेक्सन सञ्चालन गर्ने योजना रहेको प्रधानाध्यापक घिमिरेले बताउनुभयो । चालु शैक्षिक सत्रमा कक्षा ४ मा २१ जना, कक्षा ५ मा २६ जना, कक्षा ६ मा २० जना, कक्षा ७ मा ४० जना, कक्षा ८ मा २५ जना तथा कक्षा ९ मा एक सय जना विद्यार्थी भर्ना भएका छन् ।

प्रधानाध्यापक घिमिरेका अनुसार विद्यालयले आधारभूत तहदेखि नै विद्यार्थीको शैक्षिक आधार बलियो बनाउन साना कक्षामा विद्यार्थी संख्या सीमित राखेर गुणस्तरीय पठनपाठन गराउने योजना बनाएको छ । विद्यालयले बालकक्षादेखि नै गुणस्तरीय शिक्षामा जोड दिँदै मन्टेश्वरी तालिम प्राप्त शिक्षकको व्यवस्था गरेको छ भने साना बालबालिकालाई खेल्दै सिक्ने वातावरण उपलब्ध गराउन ‘गेमिङ जोन’समेत सञ्चालनमा ल्याएको छ ।

यसवर्ष विद्यालयले भर्ना प्रक्रियामा नयाँ अभ्याससमेत सुरु गरेको छ । गत वर्षको तुलनामा विद्यार्थीको नियमित उपस्थितिमा कमी नआओस् भन्ने उद्देश्यले प्रत्येक विद्यार्थी र अभिभावकसँग अनिवार्य अन्तरवार्ता लिएर मात्र भर्ना गरिएको घिमिरेले बताउनुभयो । विद्यालयमा विशेषगरी तराई–मधेस क्षेत्रका विद्यार्थीहरूको आकर्षण उच्च रहेको भए पनि सीमित सिटका कारण भर्ना संख्या नियन्त्रण गरिएको बताइएको छ ।

विद्यालयले शैक्षिक गुणस्तर सुधारलाई केन्द्रमा राख्दै तहगत संयोजक, कक्षा प्रधान शिक्षक तथा विषयगत क्लबहरूको व्यवस्था गरेको छ । कक्षा ६ देखि १० सम्म विभिन्न विषयगत क्लब सञ्चालन गरिएका छन् । साथै विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास गराउन विद्यालय क्याप्टेन, भाइस क्याप्टेन तथा सदनगत क्याप्टेनको निर्वाचनसमेत नियमितरूपमा गरिँदै आएको छ । प्रधानाध्यापक घिमिरेका अनुसार यसले विद्यार्थीहरूलाई लोकतान्त्रिक प्रक्रिया र निर्वाचन प्रणालीबारे व्यवहारिक ज्ञान दिने काम गरेको छ ।

विद्यार्थीको नियमितता र प्रगति अनुगमन गर्न विद्यालयले दैनिक तथा मासिक प्रतिवेदन प्रणाली लागू गरेको छ । हरेक दिन अनुपस्थित विद्यार्थीको विवरण संकलन गरी अभिभावकसँग सम्पर्क गर्ने गरिएको छ भने मासिक रूपमा अनुपस्थितिको समीक्षा गरेर आवश्यक सुधारात्मक कदम चालिने गरेको उहाँले बताउनुभयो । विद्यालयले विद्यार्थीको नतिजा सुधारका लागि उपचारात्मक तथा सुधारात्मक कक्षासमेत सञ्चालन गर्दै आएको छ । विषयगत शिक्षकहरूले विद्यार्थीको सिकाइ अवस्था पहिचान गरी कमजोर पक्ष सुधार गर्न विशेष कक्षा सञ्चालन गर्ने गरेका छ । प्रत्येक शिक्षकले वार्षिक कार्ययोजना तयार गर्ने तथा शिक्षण सामग्री निर्माणमा पनि जोड दिइएको प्रधानाध्यापक घिमिरेले बताउनुभयो ।

विद्यार्थीमैत्री वातावरण निर्माणका लागि विद्यालयले बालमैत्री शौचालय, स्वच्छ खानेपानी, दिवा खाजा, सुविधा सम्पन्न किड्स जोन तथा प्रविधिमैत्री कक्षाको व्यवस्था गरेको छ । अतिरिक्त क्रियाकलापलाई प्रभावकारी बनाउन छुट्टै संयोजकको व्यवस्था गरेको र हरेक हप्ता विभिन्न सह–पाठ्यक्रम गतिविधि सञ्चालन गर्दै आएको मावि संयोजक संगीता उप्रेतीले बताउनुभयो । वडा अध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा विद्यालयले थप सहयोग र प्रोत्साहन पाएको प्रधानाध्यापक घिमिरेले बताउनुभयो । स्थानीय सरकारको सक्रिय सहयोगले विद्यालयको गुणस्तर सुधारमा सकारात्मक प्रभाव परेको उहाँको भनाइ छ ।

अभिभावक सहभागितालाई बलियो बनाउन विद्यालयले नियमित भेटघाट तथा अन्तरक्रिया गर्दै आएको छ । विद्यालय र विद्यार्थीप्रति चासो राख्ने तथा रचनात्मक सुझाव दिने अभिभावकलाई वार्षिक रूपमा सम्मान र पुरस्कारसमेत प्रदान गर्ने गरिएको उहाँले बताउनुभयो । टाढा रहेका तराई–मधेसका अभिभावकहरू प्रत्यक्ष उपस्थित हुन नसक्ने भएकाले प्रतिनिधिमार्फत सहभागिता जनाउने गरेका छन् । विद्यालयले बालअधिकार, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व विकासका लागि स्काउट, रेडक्रस, बाल क्लबलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसले विद्यार्थीहरूमा नेतृत्व क्षमता, अनुशासन र सामाजिक चेतना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएको उप्रेतिले बताउनुभयो ।

हाल भुटनदेवी माध्यमिक विद्यालयमा कक्षा १२ सम्म २ हजार १ सय ९० जना विद्यार्थी अध्ययनरत छन् । २०८२ सालको एसईईमा विद्यालयबाट २ सय ७८ विद्यार्थी सहभागी भएका छन्, जसमा साधारण धारतर्फ २ सय ३८ र प्राविधिक धारतर्फ ४० जना छन् । अघिल्लो वर्ष करिब ६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा यस वर्ष अझ राम्रो नतिजा आउने अपेक्षा गरिएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयले यस वर्षबाट कक्षा ११ मा होटेल म्यानेजमेन्ट र शिक्षाशास्त्रको पठनपाठन गराउने योजना रहेको प्रधानाध्यापक घिमिरेले बताउनुभयो ।

Exit mobile version