हेटौँडा : हेटौँडा फुटबल एकेडेमीलाई जर्सी सहयोग प्राप्त भएको छ । आइतबार हेटौँडा–८, कमानेस्थित कमाने एकेडेमीले हेटौँडा फुटबल एकेडेमीलाई जर्सी सेट सहयोग गरेको छ ।
रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा जारी दोस्रो उपमेयर कप राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुने हेटौँडा एकेडेमीलाई कमाने एकेडेमीले करिब २० हजार रुपैयाँ बराबरको १८ थान जर्सी सेट सहयोग गरेको हो । प्रतियोगितामा सहभागी हुन हेटौँडा फुटबल एकेडेमीका महिला टोली आइतबार बुटवल प्रस्थान गरेको छ ।
हेटौँडा एकेडेमीले भोलि सोमबार विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । विजेता टोलीले सेमिफाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिताको उपाधि विजेताले २ लाख ५० हजार रुपैयाँ र उपविजेताले १ लाख २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, सर्वोकृष्ट खेलाडीले २५ हजार तथा विधागत उत्कृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
