Home मुख्य समाचार हत्याको आरोपमा मकवानपुर प्रहरीद्वारा ३ अभियुक्त पक्राउ

हत्याको आरोपमा मकवानपुर प्रहरीद्वारा ३ अभियुक्त पक्राउ

सांकेतिक तस्वीर । तस्वीर : गुगल ।

हेटौँडा : हत्या गरेको आरोपमा मकवानपुर प्रहरीले ३ जना अभियुक्तलाई पक्राउ गरेको छ । घटनाको १५ वर्षपछि हत्या आरोपमा ३ जनालाई प्रहरीले मकवानपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

बकैया गाउँपालिका–४ का १८ वर्षीय विकास देउजाको हत्या आरोपमा उनीहरुलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय ठिंगन र जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडाका ३० वर्षीय अष्ट लामा र ५५ वर्षीय बद्री कठायत र भीमफेदी गाउँपालिका–८ का ६५ वर्षीय केदार नगरकोटी रहेका छन् । उनीहरुले २०६८ पुस ८ मा बकैया गाउँपालिका–४ का १८ वर्षीय विकास देउजाको हत्या गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुराना र थाँती रहेका मुद्दाहररुको अनुसन्धानलाई पुनः तीव्रता दिने क्रममा अभियुक्तहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक राजु कुर्मीले बताए । उनका अनुसार, आपसी विवादका कारण भएको उक्त घटना फाइल सुरुमा सरकारी वकिल हुँदै अदालतसम्म पुगेको थियो । तर, पोस्टमार्टम र घाउचोटको रिपोर्टका आधारमा अदालतले थप अनुसन्धान आवश्यक देखिएको भन्दै फाइल प्रहरीमा फिर्ता पठाएको उनले बताए । सोही बमोजिम प्रहरीको अनुसन्धान रहेको उक्त फाइललाई सुक्ष्म रुपमा अध्ययन गरेर अघि बढाएको उनले बताए ।

प्रहरी निरीक्षक कुर्मीले प्रहरीले पुराना फाइलहरूलाई थन्क्याएर मात्र नराखी तिनको सफल अनुसन्धान गरी नतिजा निकाल्न सक्रियता देखाएको बताए । पक्राउ परेका व्यक्तिहरूको वयान लिने र थप कानुनी प्रक्रिया अगाडि बढाउने कार्य भइरहेको उनको भनाइ छ । उक्त विषयमा थप विवरण खुल्न अध्ययनको क्रममा रहेको उनले बताए ।

Exit mobile version