हेटौँडा : धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका–४, बडरेखोलास्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा बेनिघाट रोराङ गाउँपालिका–६, स्यादुलका ४२ वर्षीय राम कुमार चेपाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चेपाङ मंगलबार बिहान ११ बजेको समयमा आफ्ना छोराहरू २५ वर्षीय सुकराम चेपाङ, १५ वर्षीय कमल चेपाङ तथा राप्ती नगरपालिका–१३ निवासी १५ वर्षीय सन्त कुमालसहित माछा मार्न बडरेखोला पुगेका थिए । सो क्रममा गर्मी भएपछि पौडी खेल्न नदीमा पसेका रामकुमारलाई त्रिशूली नदीले बगाएर बेपत्ता भएका थिए । उनलाई खोजी गर्दै जाँदा शुक्रबार साँझ ५ बजेर १५ मिनेटको समयमा बडरेखोलास्थित त्रिशूली नदीको किनारमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
