हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा इन्द्रसरोवर कप–२०८३ सम्पन्न भएको छ । बैशाख १६ गतेदेखि सुरु भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो । प्रतियोगितामा पुरुष फुटबलसहित पुरुष तथा महिला भलिबलका खेलहरू भएको थियो ।

फुटबल प्रतियोगिताको उपाधि कुलेखानी एफसीले जितेको छ । मंगलबार भएको फाइनल खेलमा कुलेखानी एफसीले कुृलेखानी टाउनलाई २–० गोलअन्तरले हराएको हो । विजेता टोलीले नगद ७० हजार रुपैयाँ र उपविजेताले ३५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । कुलेखानी एफसीले सेमिफाइनलमा लालिमा एफसी फाखेललाई र कुलेखानी टाउनले सिटीलाई हराएर फाइनलमा पुगेको थियो ।

भलिबल प्रतियोगितामा पुरुष र महिला दुबैतर्फ रोयल शेराले फाइनल जितेको छ । महिलातर्फ ब्राइट मुनलाई र पुरुषतर्फ लालिमालाई हराउँदै शेराले प्रतियोगिता जितेको हो । प्रतियोगिताका विजेता टोलीले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारका व्यवस्था गरिएको थियो ।

प्रतियोगितामा गाउँपालिकाभित्र सञ्चालित विभिन्न क्लबहरूको सहभागिता रहेको छ । भलिबलतर्फ महिला र पुरुष दुबै विधामा ६–६ वटा टोलीले सहभागिता जनाएका थिए भने फुटबलतर्फ ८ वटा टिमबीच प्रतिस्पर्धा भएको थियो ।