सांकेतिक चित्रः गुगल ।

हेटौंडाः हेटौंडा–११, थानाभर्‍याङकी कोरोना सङ्क्रमित एक महिलाको आज चितवनमा मृत्यु भएको छ । चितवन जिल्लाको भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी) मा उपचाररत महिलाको आज दिउँसो मृत्यु भएको हो । छातीमा समस्या भएकी उनी उपचारका लागि सिकिस्त अवस्थामा भदौ ११ गते भर्ना भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभएको छ ।

भदौ ११ गते नै पीसीआर परीक्षणमा मृतक महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । उनको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भेन्टिलेटरमा राखेर उपचार भएको थियो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष गोकर्ण पराजुलीका अनुसार निधन भएकी महिलाको र परिवारका सदस्यका बारेमा जानकारी लिइराखिएको र निधन भएकी महिला र उनको परिवारको सम्पर्कमा आएकाहरुको पहिचान गरी आवश्यकताअनुसार पिसिआर परीक्षणको कार्य गरिने बताउनुभएको छ । मृतक महिलाका श्रीमान् र बुहारीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ ।