गौरिटार आइसोलेसनमा सहयोग हस्तान्तरण गरिँदै ।

हेटौंडाः नेपाल रेडक्रस सोसाइटीको ५८ औं स्थापना दिवसको अवसरमा जिल्ला शाखा मकवानपुरले साताव्यापी कार्यक्रमको आयोजना गरेको छ । साताभर विविध कार्यक्रम गरी आज स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरले हेटौंडा–६, गौरिटारस्थित आइसोलेसन वार्डमा कोरोना सङ्क्रमित भई उपचाररत व्यक्तिहरुलाई फलफुल वितरण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिका सदस्य प्रताप बिष्टले फलफुल वितरण गर्नु भई कार्यक्रमको सुरुवात गरिएको थियो । रेडक्रस मकवानपुरले आइसोलेसन वार्डमा उपचाररत ८ जना महिलालाई हाइजेनिक किट पनि वितरण गरेको छ । आइसोलेसन सहयोग समन्वय समितिका संयोजक अर्जुन चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य संयोजक उत्सव चौंलागाई, स्वास्थ्यकर्मी र सरोकारवालाको उपस्थिति रहेको थियो । कार्यक्रममा कोभिड महामारीमा अग्र मोर्चामा रहेर सेवारत स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सुरक्षाकर्मीहरुलाई ताली बजाएर सम्मान गरिएको थियो ।

यसैगरी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरमा पनि स्थापना दिवसको कार्यक्रम भएको छ । रेडक्रसका संस्थापक जा हेनरी ड्युनाको तस्बिरमा रेडक्रसका केन्द्र्रीय सदस्य प्रताप विष्टले माल्यार्पण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । रेडक्रस मकवानपुरका कार्यवाहक सभापति लालबहादुर थापाको अध्यक्षतामा भएको संक्षिप्त कार्यक्रममा रेडक्रसका निवर्तमान केन्द्रीय सदस्य सूर्यचन्द्र न्यौपानेसहित जिल्ला कार्समिति युवा सर्कल लगायतको उपस्थिति रहेको रेडक्रस मकवानपुरका मन्त्री खेमराज सापकोटाले जानकारी दिनुभयो । ‘ताली बजाउनुस्’ भन्ने मूल नाराका साथ ५८ औं नेपाल रेडक्रस दिवस मनाइएको हो । २०२० भाद्र १९ गते अर्थात आजकै दिन नेपालमा रेडक्रसको स्थापना भएको हो ।