हेटौँडा : त्रिभुवन आर्मी क्लबलाई हराउँदै सिमराको नव जनजागृति युवा क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । जनजागृतिले शुक्रबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा आर्मीलाई टाइब्रेकरमा ४–३ गोलले हराएको हो ।
निर्धारित समयमा १–१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । आर्मीका लागि कप्तान भरत खवासले खेलको आठौं मिनेटमा र जनजागृतिका सन्तोष गोङ्बाले दोस्रो हाफको अतिरिक्त समय ९३ औं मिनेटमा गोल गरे । नव जनजागृतिका लागि टाइब्रेकरमा सुदिप लामा, रन्जय चौधरी, विक्रम थोकर, सन्तोष गोङ्बाको प्रहार गोलमा परिणत भयो भने समीर नेपालीको प्रहार गोलपोष्टमा ठोकिएर फर्कियो ।
आर्मीका लागि दिनेश हेन्जन, पेम्बा दोर्जे लामा र जिलेस्पिजंग कार्कीको प्रहार गोलमा परिणत भए । आर्मीका विमल पाण्डे र सुजन खत्रीको प्रहार सिमराका गोलरक्षक युनेश चौधरीले रोके । प्लेयर अफ दि म्याच चौधरी घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको फाइनल खेल बैशाख २६ गते हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०–१० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा आयोजकसहित १० टिम सहभागी छन् ।











