विद्यालयको प्रशासनिक तथा शैक्षिक गतिविधिको नेतृत्व लिने मुख्य व्यक्ति हो– प्रधानाध्यापक । अध्यापक (शिक्षक)हरुको प्रमुखको रुपमा रहने भएकाले प्रधानाध्यापक भन्ने गरिएको भए पनि विद्यालयको सबै प्रकारको व्यवस्थापनमा प्रधानाध्यापकको भूमिका महत्वपूर्ण हुन्छ । विद्यालयको सफलता/असफलता सामान्यतयाः प्रधानाध्यापककै सोच, लगन, कार्यशैली र नेतृत्व सीपमा निर्भर गर्दछ । विद्यालय तहमा महिला शिक्षकको संख्या वृद्धि हुँदै जाने क्रममा विद्यालयको नेतृत्वमा पनि महिलाको संलग्नता बढ्दै गएको छ । मकवानपुरका सबैजसो पालिकाका विभिन्न विद्यालयहरुमा प्रधानाध्यापक बनेर महिलाले नेतृत्व लिइरहेका छन् । जिल्लाकै दुर्गम भन्ने गरिएको राक्सिराङ गाउँपालिकाका विद्यालयहरुमा पनि महिला शिक्षक प्रधानाध्यापक भएर विद्यालयको विकासमा अग्रसर भइरहेका छन् ।

५० वटा विद्यालय रहेको राक्सिराङ गाउँपालिकाको ९ वटा विद्यालयमा महिला प्रधानाध्यापक रहेका छन् । पालिकाको ३ वटा माध्यमिक विद्यालय र ६ वटा आधारभूत विद्यालयको नेतृत्व महिलाले लिइरहेका हुन् । गाउँपालिकाका ५ वटा माध्यमिक विद्यालयमध्ये ३ वटामा महिला प्रधानाध्यापकले विद्यालयको नेतृत्व गर्नुले नेतृत्वमा महिला सहभागिता वृद्धि भएको मान्न सकिन्छ । गाउँपालिकाको माध्यमिक विद्यालयमै महिला प्रधानाध्यापकको संख्या धेरै हुनुले महिलाप्रति हेर्ने दृष्टिकोण र राख्ने सोचमा परिवर्तन ल्याउने आशा गर्न सकिन्छ । विद्यालय तथा अन्य क्षेत्रमा पुरुष शिक्षकहरु नै नेतृत्वमा आउन खोज्ने परिपाटीलाई राक्सिराङले परिवर्तन गर्ने सम्भावना बढाएको छ । ६ सयभन्दा बढी विद्यार्थी रहेको, प्राविधिक धारसहितको १२ कक्षासम्म पढाइ भइरहेको विद्यालयको नेतृत्व तहको जिम्मेवारी महिला शिक्षकले लिएकी छिन् ।

विद्यालयको नेतृत्व गर्नुलाई चुनौतीपूर्ण काम मानिन्छ । महिलालाई कमजोर ठान्ने पितृसत्तात्मक सोचबाट ग्रस्त समाजमा महिलाले नेतृत्व लिन खोज्नुलाई नै एउटा उपलब्धि मान्न सकिन्छ । विद्यालयको प्रधानाध्यापक भएर सबै पक्षको साथ, सहयोग र सहभागिता जुटाउँदै विद्यालय सञ्चालन गर्न सफल हुनुलाई साँच्चै बहादुरी मान्नुपर्छ । महिला शिक्षक प्रधानाध्यापक भएर काम गर्न निकै चुनौतीपूर्ण ठान्ने गरिएको छ । प्रधानाध्यापक भएर आफूसँग भएको नेतृत्व क्षमता देखाउन, सबैलाई समेट्न, नीति नियम व्यवस्थापन गर्न, विभेदका समस्या समाधान गर्न, शिक्षक तथा विद्यार्थीमा अनुशासन कायम गर्न सहज नभएको स्वयम् महिला प्रधानाध्यापकको स्वीकारोक्ति छ । आफूसँग भएको क्षमता देखाउँदा पनि महिला भएकै कारण विभेदको सामना गर्नुपरेको अनुभूति महिला प्रधानाध्यापकको छ । जातीय विभेदमा पर्ने गरेको महिला प्रधानाध्यापकको गुनासो छ ।

हाम्रा सामुदायिक विद्यालयहरुमा समस्याका चाङ छन् । अपर्याप्त भौतिक पूर्वाधार, विषयगत शिक्षक दरबन्दी अभाव, शिक्षण सिकाइमा प्रविधिको न्यून पहुँच, कमजोर नतिजाजस्ता समस्याले सामुदायिक विद्यालयमा अभिभावक तथा विद्यार्थीको आकर्षण कम हुँदै गएको छ । सरकारले आवश्यक बजेट व्यवस्थापन गर्न नसक्दा र निःशुल्क शिक्षाको रटानमा पैसा लिन नपाउँदा सामुदायिक विद्यालयहरुको शिक्षण सिकाइ क्रियाकलापसमेत प्रभावकारी बन्न सकेको छैन । सरकारको पर्याप्त लगानी, समुदायको चासो, शिक्षकको लगन, विद्यार्थीको पठन संस्कृति सबै पक्षमा ह्रास आएका कारण धेरैजसो सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको छ । विद्यालयका तमाम समस्या र चुनौती सामना गर्दै प्रधानाध्यापक बनेर विद्यालय सुधारको प्रयत्न गर्ने महिला शिक्षकको आँटलाई सबैले सम्मान गर्नुपर्छ । सरोकारवालाहरुसँग आवश्यक समन्वय र सहकार्य गर्दै विद्यालयको सबै पक्षको विकास र सुधारमा अग्रसर महिलाको मनोबल बढाउन सकेमा महिला नेतृत्वले सार्थकता पाउन सक्छ ।