हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकामा आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आज बिहिबारदेखि सुरु हुँदैछ । आज हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समिति र सर्लाहीको बागमती युथ क्लब भिड्ने छ । खेल दिउँसो ३ः३० बजे बागमती–४ स्थित सहिद स्मृति रंगशालामा हुनेछ ।

बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा आयोजकसहित १० टिम सहभागी छन् । प्रतियोगिताको सेमिफाइनल खेल बैशाख २३ गते र २४ गते हुनेछ भने फाइनल खेल बैशाख २६ गते हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्टहरुले २५–२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।