
हेटौँडा : मकवानपुरका दुग्ध उत्पादक कृषकहरुले दुध बिक्रि गरेबापत पाउनुपर्ने रकम मध्ये असारसम्ममा ६५ प्रतिशत रकम तिर्न प्रशासनले डेरी सञ्चालकहरुलाई निर्देशन दिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा दुग्ध उत्पादक सहकारी संघ तथा डेरी उद्योगहरुबीच भएको बैठकमा असार मसान्तसम्म सबै डेरी उद्योगहरुले खरिद गरे बापतको ६५ प्रतिशत रकम तिर्न निर्देशन दिएको हो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले किसानहरुले आफ्नो पैसा समयमै नपाएको भन्दै पटक–पटक प्रशासनमा गुनासो गरेको भन्दै डेरी उद्योगहरुले किसानलाई तिर्न बाँकी १४ करोड रकम समयसिमा भित्रै तिर्न निर्देशन दिनुभयो । समयसिमा भित्रै रकम नतिर्ने उद्योगहरुलाई कारबाही गरिने उहाँले चेतावनी दिनुभयो । बाँकी ३५ प्रतिशत रकम पनि असोज मसान्तसम्ममा किसानहरुलाई तिर्न उहाँले आग्रह गर्नुभयो । उहाँले किसानको पैसा जसरी पनि सोही समयभित्र नै तिर्नुपर्ने बताउँदै डेरी उद्योगीको समस्या भए आफ्ना समस्या समाधानका लागि प्रशासनसँग छुट्टै छलफल गर्न तर किसानको पैसा नरोक्न उद्योगीहरुलाई आग्रह गर्नुभयो ।
जिल्लामा सबैभन्दा धेरै रकम किसानलाई तिर्न बाँकी शुभ डेरी इन्डष्ट्री तथा एसके डेरीले तिर्न बाँकी देखिएको छ । शुभ डेरीले ६ करोड ७० लाख भन्दा बढी रकम तिर्न बाँकी देखिएको छ भने एसके डेरीले ४ करोड ४९ लाख रुपैयाँ किसानलाई तिर्न बाँकी देखिएको छ । बाँकी अन्य डेरीहरुको भने २० लाख भन्दा कम रकम तिर्न बाँकी देखिन्छ । स्यार्से कालिका दुग्ध उद्योग, गायत्री डेरी इन्डष्ट्री, नारायणी मिल्क एण्ड फुड, अनुश्री सप्लायर्स, कविता डेरी एण्ड जुस सेन्टर, कल्पवृक्ष लगायत अन्य तीन डेरी उद्योगहरुले किसानलाइ १४ करोड रुपैयाँ तिर्न बाँकी रहेको दुग्ध सहकारी संघ मकवानपुरले जनाएको छ । यी डेरी उद्योगहरु मध्ये कतिपयको २०७८ सालदेखिको बक्यौता देखिएको छ ।
बैठकमा उद्योगिहरु मध्ये एसके डेरी तथा शुभ डेरीले आफ्नो उद्योगको प्रमुख उत्पादन छुर्पी बिदेश निर्यात भएको बताउँदै पछिल्लो मध्यपूर्वको युद्धले सामान निर्यातमा समस्या भइरहेको बताएका छन् भने अन्यले घाटा भएका कारण व्यवसायमा सुस्तता आएकाले तिर्न नसकेको कारण बताएका छन् । दूधको रकम विभिन्न दुग्ध उद्योग तथा डेरीहरूले रोकिराख्दा चार महिनादेखि किसान आर्थिक संकटमा परेका छन् । दूध बेचेर दैनिक घरखर्च चलाउने, पशुचारा खरिद गर्ने र बैंकको किस्ता तिर्ने किसानहरू रकम नपाउँदा निकै अप्ठ्यारोमा परेका छन् । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कँडेलका अनुसार उद्योगहरूले किसानसँग उधारोमा दूध खरिद गर्ने तर उपभोक्तालाई भने नगदमा बिक्री गर्ने प्रवृत्तिले किसानमाथि अन्याय भइरहेको बताउनुभएको छ ।
यस्तै जिल्ला सहकारी संघका अध्यक्ष नारायण देवकोटाले किसानहरुको रकम एकै पटक भन्दा पनि असारसम्म तीन किस्तामा तिर्न आग्रह गर्नुभएको छ । बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, सशस्त्र प्रहरी उपरीक्षक निवन कुमार खड्का, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटी, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कँडेल, हेटौंडा दुग्ध वितरण आयोजनाका कृष्ण कुमार श्रेष्ठ लगायत जिल्लाका डेरी उद्योग सञ्चालक तथा व्यवस्थापकहरुको उपस्थिति थियो ।










