हेटौँडा: हेटौँडामा जारी उपमेयर कप भलिबल प्रतियोगिताको फाइनल खेल्ने टोलीहरुको टुङ्गो लागेको छ। सोमबार सम्पन्न सेमिफाइनल खेलसँगै महिला र पुरुष दुवै समूहका फाइनलिस्ट तय भएका हुन्।
महिलातर्फ उपाधिका लागि हेटौँडा–५ र हेटौँडा–१२ बीच प्रतिस्पर्धा हुने भएको छ। हेटौँडा–५ ले सेमिफाइनलमा हेटौँडा–९ लाई २५–२२, २५–१८ र २५–१२ को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो। त्यस्तै, हेटौँडा–१२ ले हेटौँडा–१७ लाई २५–१५, २५–१७ र २५–१० ले पराजित गर्दै उपाधि नजिक पुगेको छ।
पुरुषतर्फ हेटौँडा–११ र हेटौँडा–१९ बीच उपाधि भिडन्त हुने भएको छ। हेटौँडा–१९ ले हेटौँडा–१८ लाई २५–१५, २५–१८ र २५–१८ को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनायो। अर्को खेलमा हेटौँडा–११ ले हेटौँडा–१२ लाई ३–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। उसले पहिलो सेट २५–२३ ले जित्दा दोस्रो सेट २५–२१ ले गुमाएको थियो। त्यसपछि तेस्रो र चौथो सेट क्रमशः २५–१७ र २५–२३ ले जित्दै फाइनल यात्रा तय गर्यो।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार रुपैयाँ पाउनेछ। सान्त्वना हुने टोलीले १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
हेटौँडा उपमहानगर खेलकुद विकास समितिको प्रायोजन तथा केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय खेलकुद प्रतिष्ठानको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १० वडाका टोलीको सहभागिता रहेको छ। फाइनल खेल मंगलबार दिउँसो हुने तालिका छ।











