कुनै बेला मुलुकको विद्यालय शिक्षा धानेको सामुदायिक अर्थात् सरकारी विद्यालयप्रति फेरि आकर्षण देखिन थालेको छ । निजी लगानीमा खुलेका संस्थागत विद्यालयहरुको बढ्दो प्रभावका कारण उपेक्षित बनेको सामुदायिक विद्यालयप्रति क्रमशः विश्वास बढ्दै गएको हो । सरकारी बेवास्ता र राजनीतिक स्वार्थका कारण आक्रान्त बनेको सामुदायिक विद्यालयहरु समुदाय र विद्यालयका प्रयत्नका कारण विश्वासिलो बन्दै गएको देखिन्छ । सामुदायिक विद्यालयप्रति कतिपय स्थानीय सरकारसमेतको चासो र सक्रियता वृद्धि हुँदै गर्दा विद्यालयहरुमा भौतिक विकास एवम् शैक्षिक सुधार भइरहेको छ । संस्थागत विद्यालय छाडेर विद्यार्थी सामुदायिक विद्यालयमा आउन थालेका र सचेत अभिभावकहरुले पनि आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्न थालेपछि विद्यालयको नतिजामा समेत सुधार हुन पुगेको छ ।
आइतबार हेटौँडाका दुईवटा सामुदायिक विद्यालयमा पढ्न प्रवेश परीक्षा दिनेको भिडले सामुदायिक विद्यालयप्रति विश्वास र आकर्षण बढ्दै गएको प्रष्ट हुन्छ । हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय मावि र हेटौँडा–५ स्थित बालज्योति माविले नयाँ विद्यार्थी भर्ना गर्न लिएको प्रवेश परीक्षामा विद्यार्थी व्यापक भिड देखिएको थियो । आधुनिकमा एक हजार एक सय जनाले प्रवेश परीक्षा दिएका थिए । विद्यालयको कक्षाकोठा तथा शिक्षकको क्षमताअनुसार ३ सय ५६ जना नयाँ विद्यार्थी भर्ना लिइने विद्यालयले जनाएको छ । हेटौँडाका भुटनदेवी, सिद्धार्थ, प्रगति, श्रमिक, जनप्रिय, वंशगोपाललगायत अन्य सामुदायिक विद्यालयहरुमा पनि विद्यार्थीको आकर्षण देखिने गरेको छ । यहाँका केही सामुदायिक विद्यालयमा पढ्न चाहने विद्यार्थी संख्या धेरै भए पनि विद्यालयले सीमित विद्यार्थीमात्र भर्ना गर्दै आएका छन् ।
पछिल्ला वर्षहरुमा बारा, पर्सा, रौतहट, सर्लाहीलगायत तराईका जिल्लाहरुबाट हेटौँडा पढ्न आउने विद्यार्थी संख्यामा निकै वृद्धि भइरहेको छ । तराईका जिल्लाहरुको तुलनामा हेटौँडामा राम्रो शिक्षा पाउने गरेको भन्दै अभिभावक तथा विद्यार्थी आकर्षित भइरहेका हुन् । हेटौँडाका अधिकांश सामुदायिक विद्यालयले पनि संस्थागत विद्यालयले जस्तै अंग्रेजी माध्यममा पढाउन थालेपछि संस्थागत विद्यालय छाडेर आउने विद्यार्थीको संख्यासमेत बढ्दै गएको छ । संस्थागत विद्यालयले लिने शुल्कको तुलनामा सामुदायिक विद्यालयहरुले अभिभावकसँग न्यून आर्थिक सहयोग लिएर अंग्रेजी माध्यममा पढाउने गरेका कारण कमजोर आर्थिक अवस्था भएका अभिभावकको आकर्षण सामुदायिक विद्यालय बनेको हो । सामुदायिक विद्यालयहरुले विद्यार्थीको सिकाइ सहजीकरणमा सुधार गर्दै उत्कृष्ट नतिजा दिन थालेपछि सामुदायिक विद्यालय रोजाइमा पर्न थालेको पाइन्छ ।
कुनैबेला आर्थिकरुपले सम्पन्न अभिभावकले आफ्ना छोराछोरी संस्थागत विद्यालयमा पढाउँथ भने मध्यम तथा न्यून आय भएकाहरुले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने बाध्यता थियो । तर, निजी विद्यालयहरुको संख्या र प्रभाव अनि अंग्रेजी माध्यमको मोहसँगै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर बन्दै गएका कारण मध्यम वर्गका अभिभावक पनि संस्थागत विद्यालयप्रति आकर्षिक हुन पुगेका थिए । केही सामुदायिक विद्यालयको व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक र स्थानीय अभिभावकसमेतको विशेष चासो र सक्रियताले अंग्रेजी माध्यमसहित विद्यालयमा सुधार गर्दै गएपछि क्रमशः सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि भइरहेकाले आकर्षण र विश्वास बढ्दै गएको हो । भौतिक पूर्वाधारसँगै प्रविधियुक्त प्रभावकारी शिक्षणमा सामुदायिक विद्यालयहरु अग्रसर बन्दै जाँदा राज्यले शिक्षा क्षेत्रमा लगानीसमेत वृद्धि गर्नुपर्ने अपरिहार्यता देखिन्छ ।
