अनुगमनका क्रममा कागजात हेर्नुहुँदै डा. साह ।

हेटौँडा : हेटौँडा–१, भिन्तुनापथस्थित एसके समाज डेन्टल प्रालिमा आइतबार नेपाल मेडिकल काउन्सिलको टोलीले अनुगमन गरेको छ । काउन्सिलका सदस्य डा. अजय साहको नेतृत्वमा ५ सदस्यीय टोलीले बिरामी तथा स्थानीयबाट प्राप्त उजुरीका आधारमा अनुगमन गरेको हो ।

नेपाल डेन्टल एसोसिएसनको अध्यक्ष समेत रहनुभएका डा. साहले एसके समाज डेन्टल दन्त चिकित्सक बिना नै सञ्चालनमा रहेको, स्वास्थ्यकर्मीलाई पारिश्रमिक नदिएको, चरित्र हत्या गर्ने प्रयास गरेको भन्ने उजुरीपछि अनुगमन गरिएको बताउनुभयो । अनुगमनका क्रममा क्लिनिकमा कुनै पनि आधिकारिक चिकित्सक उपस्थित नभएको पाइएको डा. साहले जानकारी दिनुभयो । सञ्चालक सरोज कुमार चौधरी स्वयम्ले नै बिरामीहरूको दन्त उपचार गरिरहेको भेटिएको डा. साहको भनाइ छ । अनुगमन टोलीका अनुसार सञ्चालक चौधरीसँग चिकित्सा सम्बन्धी कुनै पनि शैक्षिक योग्यता नरहेको पाइएको छ । त्यस्तै, डेन्टल हाइजिनिस्टको प्रमाणपत्र तथा अन्य आवश्यक शैक्षिक एवम् पेशागत योग्यता सम्बन्धी कागजात माग गर्दा पनि प्रस्तुत गर्न नसकेको बताइएको छ ।

क्लिनिकमा तीन जना डाक्टरहरूको नाम सूचना बोर्डमा टाँसिएको भए पनि तीमध्ये केहीले पहिले नै काम छोडिसकेका र केहीले नियमित सेवा नदिएको पाइएको छ । डा. सुशील साहले पनि नियमित रूपमा बिरामी जाँच नगर्ने गरेको भेटिएको बताइएको छ । यसैबीच, डा. सुधीर सिंहले उक्त क्लिनिकमा आफूले सेवा नदिएको स्पष्ट पारेका छन् भने अर्का डा. मणि देवले क्लिनिकसँग आर्थिक लेनदेन विवाद रहेको र आफूलाई धम्की दिइएको गुनासो गरेका छन् । उनले करिब १ लाख ४० हजार रुपैयाँ पारिश्रमिक लिन बाँकी रहेको तथा कुराकानी गर्न नदिने र भिडियो सार्वजनिक गर्ने धम्कीसमेत दिइएको फोनमार्फत बताएका छन् ।

सञ्चालक चौधरीले आवश्यक कागजात घरमै रहेको र मागअनुसार पेश गर्न नसकिएको बताउनुभयको छ । साथै, सबै पारिश्रमिक भुक्तानी गरिसकिएको उहाँको दावी छ । डा. मणि देवले काम छोडेपछि अन्य डाक्टरहरूलाई बोलाइएको भनिए पनि उनीहरू नआएको चौधरीको भनाइ छ । काउन्सिलका सदस्य डा. अजय साहका अनुसार घटनाबारे दुवै पक्षको विस्तृत प्रतिवेदन तयार गरी काउन्सिलमा बुझाइनेछ । त्यसपछि आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई पनि पत्राचार गरिने डा. साहले जानकारी दिनुभएको छ ।