
हेटौँडा : हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख मुकुन्ददास श्रेष्ठप्रति क्याम्पस परिवारले श्रद्धाञ्जली अर्पण गरेको छ । क्याम्पस प्राङ्गणमा रहेको श्रेष्ठको शालिकमा शनिबार क्याम्पस परिवारले माल्यार्पण गरी श्रद्धाञ्जली प्रकट गरेको हो ।
विसं २०३७ सालमा क्याम्पसको स्थापनाकालदेखि २०४४ सालसम्म श्रेष्ठले क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो । विसं २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी काठमाडौँको असनस्थित आफ्नै घरमा उहाँको निधन भएको थियो । क्याम्पस स्थापनाको कठिन समयमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदानको कदर गर्दै क्याम्पसले हरेक वर्ष उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दै आएको छ । माल्यार्पण कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, प्राध्यापक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।










