हेटौँडा : हेटौँडा–१९, नेवारपानीबाट मकवानपुर प्रहरीले १३ वटा ओभरलोड ढुवानी गर्ने ट्रिपर नियन्त्रणमा लिएको छ । शनिबार साँझ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा मनहरीबाट हेटौँडा बजारतर्फ आउँदै गरेका ट्रिपरहरूलाई रोकेर सुरक्षाजाँच गरेको थियो ।
सुरक्षाजाँचका क्रममा सबै ट्रिपरहरूमा चुनढुङ्गा ओभरलोड रहेको तथा आवश्यक कागजात (विल) नभएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका ट्रिपरहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।
