हेटौँडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि आयोजना छनोट गर्न प्रदेश सभा सदस्यहरुलाई योजना पठाउन सूचना जारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले वैशाख १५ गते पत्र लेख्दै बैशाख २१ गतेभित्रै योजनाको विवरण बुझाउन अल्टिमेटम दिएको हो ।
मन्त्रालयले प्रदेश सभाका सदस्यहरुलाई पत्राचार गर्दै ६ दिनको समयसीमाभित्र बजेट तर्जुमाका लागि वार्षिक आयोजना प्रस्ताव तथा छनोट सम्बन्धी निर्देशिका, २०८३ अनुसारका योजनाहरु माग गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङको निर्देशन अनुसार प्रमुख स्वकीय सचिव आशिष न्यौपानेले जारी गरेको पत्रमा ६ दिन भित्र योजना पठाउन प्रदेश सभा सदस्यहरुलाई आग्रह गरिएको हो ।
‘आयोजना प्रस्ताव तथा छनोट सम्बन्धी निर्देशिकाको अनुसूची ३ बमोजिमको ढाँचामा २०८३ वैशाख २१ गते भित्र कार्यान्वयन इकाई÷कार्यालयमा आयोजना विवरण उपलब्ध गराउनुहुन पत्राचार गरिन्छ ।’ पत्रमा उल्लेख गरिएको छ । मन्त्रालयले स्रोत र साधनको सीमितता रहेको भन्दै उच्च प्रतिफल दिने र बहुसंख्यक नागरिक लाभान्वित हुने योजनालाई मात्र प्राथमिकता दिने जनाएको छ । प्रदेश सभा सदस्यहरुले तोकिएको ६ दिनभित्र योजना नबुझाए आगामी वर्षको बजेटमा उनीहरूका क्षेत्रका योजना नसमेटिने मन्त्रालयको भनाई छ ।
प्रदेश सभा सदस्यहरूले आफूले प्रस्ताव गरेका आयोजनाहरूको विवरण निर्देशिकाको अनुसूची ३ बमोजिमको ढाँचामा तयार पारी वैशाख २१ गतेभित्र सम्बन्धित कार्यान्वयन इकाई वा कार्यालयमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । मन्त्रालयले भने बजेट निर्माणको कार्यतालिका अनुसार समयमै योजना माग गर्दै आएको छ ।
