हेटौँडा : साहित्य सङ्गम मकवानपुरको सङ्गम साहित्य उत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । शनिबार सङ्गमले स्रष्टा सम्मान, बहस, बहुभाषिक कवि गोष्ठी र नवसर्जक कवि गोष्ठी सम्पन्न गरेको हो ।
स्रष्टा सम्मान कार्यक्रममा कवि नरेन्द्र परासरलाई भेषनाथ स्मृति साहित्य सम्मान प्रदान गरिएको छ । विशाल अधिकारी आशुतोषले आफ्ना पिताको स्मृतिमा स्थापना गर्नुभएको १५ हजार ५ सय ५५ रुपैयाँ नगद राशिसहितको सम्मान कवि परासरलाई प्रदान गरिएको हो । लघुकथाकार श्याम श्रेष्ठलाई नगद ११ हजार १ सय ११ रुपैयाँ नगदसहित विनोद–सुनिता सुवेदी साहित्य सम्मान प्रदान गरिएको छ । नगद १० हजार रुपैयाँको मङ्गलादेवी स्मृति नारी सम्मान साहित्यकार कल्पना पौडेल जिज्ञासुलाई प्रदान गरिएको छ ।
कवि तथा गीतकार श्यामकुमार बानियाँलाई मकवानपुर साहित्यश्री सम्मान प्रदान गरिएको छ । तत्कालीन जिल्ला विकास समितिले स्थापना गरेको यस सम्मानसहित कवि बानियाँलाई १५ हजार ५ सय ५५ रुपैयाँ नगद प्रदान गरिएको छ । यस्तै, अग्रज साहित्यकार स्नेह सायमीलाई १५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित पारिजात स्मृति साहित्य सम्मान प्रदान गरिएको छ । कार्यक्रममा मुक्तककार दिनेश शर्मालाई १० हजार नगदसहितको मुक्ति तारा साहित्य सम्मान प्रदान गरिएको छ ।
कार्यक्रममा २०८२ सालभित्र प्रकाशित कृतिका कृतिकारहरुलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा राजाराम बर्तौलालाई काठमाडौं प्याराडाइज (यात्रा संस्मरण), एसआर मञ्जरीको मञ्जरी (मुक्तक संग्रह), खनित गणेशको लाफा (उपन्यास), छवि अनित्यको बाल महाभारत (बाल आख्यान), तुलसी घिमिरेको काव्य सुधा (कविता संग्रह), गोविन्द गिरी प्रेरणाको अविधा (कथा संग्रह), सुमि थिङको जीवनको गोरेटो (मुक्तक संग्रह), कल्पना श्रेष्ठको निलो हस्ताक्षर (कविता संग्रह) कृतिका लागि सम्मान गरिएको छ ।
नेपाली कवितामा वक्रोक्ति शीर्षकमा विद्यावारिधी उपाधि प्राप्त गर्न सफल साहित्यकार विश्वनाथ सञ्जेललाई पनि सम्मान गरिएको छ । साहित्य सङ्गम मकवानपुरका आजीवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रममा मकवानपुरका सेवानिवृत्त शिक्षकहरुसँग मनका कुरा, जीवनका कुरा शीर्षकमा बहस गरिएको थियो । साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष मनोज पोखरेलले सहजीकरण गर्नुभएको कार्यक्रममा सेवानिवृत शिक्षकहरु रमेशप्रसाद लामिछाने तथा देवप्रसाद श्रेष्ठसँग आफ्ना जीवनका भोगाइ र वर्तमान परिप्रेक्ष्यबारे छलफल भएको थियो ।
