काभ्रे (धुलिखेल) : सामाजिक विकास क्षेत्रसँग सम्बन्धित खोजमूलक पत्रकारितालाई प्रवद्र्धन गर्ने उद्देश्यले महिला पत्रकारहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम धुलिखेलमा सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशको समन्वय, नेपाल पत्रकार महासंघ काभ्रे शाखाको आयोजना तथा बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय हेटौंडाको सहयोगमा कार्यक्रम भएको हो । शुक्रबार र शनिबार भएको अभिमुखीकरणमा बागमती प्रदेशका विभिन्न जिल्लाबाट २६ जना महिला पत्रकारहरूको सहभागिता रहेको थियो ।
शुक्रबार सामाजिक विकास मन्त्रालयका सचिव खुविराम अधिकारीले सामाजिक विकास मन्त्रालयको काम, कार्यक्षेत्र र सञ्चार क्षेत्रबाट अपेक्षा, सञ्चारिका समूह मकवानपुरकी संस्थापक सरिता दाहालले महिला पत्रकारको सुरक्षा, चुनौति, मिडियामा लैङ्गिक समानता र सामाजिक समावेशीकरण र नेपाल पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष नितु पण्डितले पत्रकार आचारसंहिता, स्थानीय विकासमा मिडियाको उपस्थिति, समस्या, चुनौती र अवसरका विषयमा अभिमुखीकरण गर्नु भएको थियो । शनिबार गोरखापत्रका उपसम्पादक अजय शर्माले पत्रकारितामा एआई भन्ने विषयमा अभिमुखीकरण गर्नु भएको थियो ।
कार्यक्रममा सामाजिक विकाससँग सम्बन्धित विषयमा खोजमूलक समाचार लेखन, तथ्य संकलन, स्रोत व्यवस्थापन, तथा पत्रकारितामा आवश्यक नैतिकता र उत्तरदायित्वका विषयमा प्रशिक्षण दिइएको छ । महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्दै सामाजिक विकासका मुद्दालाई प्रभावकारी रूपमा सञ्चारमाध्यममार्फत उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाल पत्रकार महासंघ काभ्रे शाखाले जनाएको छ । महिला पत्रकारहरूलाई खोजमूलक पत्रकारितामा थप दक्ष, सक्रिय र आत्मविश्वासी बनाउन सहयोग पुग्ने अपेक्षाले अभिमुखीकरण आयोजना गरेको जनाएको छ ।
अभिमुखीकरणमा सहभागी महिला पत्रकारलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको उद्घाटनमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बिनोद न्यौपाने, धुलिखेल तालिम केन्द्रका प्रमुख, काभ्रे जिल्लास्थित विभिन्न पत्रकार संगठनका प्रतिनिधि तथा प्रशिक्षकहरूको उपस्थिति रहेको थियो । अभिमुखीकरणमा हेटौँडाबाट प्रकाशन हुने समृद्ध समाज राष्ट्रिय दैनिक तथा हेटौँडाबाट प्रसारण हुने रेडियो निकासकी संवाददाता सुमिना चौलागाईको पनि सहभागिता रहेको थियो ।










