
हेटौँडाः आत्महत्याको संवेदनशील रिपोर्टिङबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बिहान जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा पत्रकार महासंघ मकवानपुरको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कार्यालयका जनस्वास्थ्य प्रशासक किरण श्रेष्ठले आत्महत्याको कारण, कानुनी व्यवस्था, रोकथामका उपाय र यसबारे रिपोर्टिङ गर्दा ध्यान दिनुपर्ने कुराहरुबारे अभिमुखीकरण गर्नुभयो । आत्महत्या व्यक्तिको कमजोरीका कारण हुने गरेको उहाँले बताउनुभयो । अनुवांशिक, मनोवैज्ञानिक, सामाजिक, पारिवारिक वातावरण तथा अन्य जोखिमका कारणले आत्महत्या हुने गरेको उहाँले बताउनुभयो ।
सञ्चारकर्मीले यससँग सम्बन्धी रिपोर्टिङ गर्दा आत्महत्या रोकथामको बारेमा गलत धारणा नबढाई जनचेतना जगाउने र सहयोग पाउन सकिने ठाउँबारे सही सूचना दिने कुरामा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । साथै, प्रख्यात व्यक्तिहरुको आत्महत्याबारे समाचार सम्प्रेषण गर्दा सवाधानी अपनाउनु पर्नेमा जोड दिनुभयो । आत्महत्या गर्नेहरुमा एक्लै बस्न चाहने, चिन्तित देखिने, भविष्यप्रति निराशापनजस्ता लक्षणहरु देखिने गर्दछ । कम वा धेरै सुत्ने पनि आत्महत्याको लक्षण भएको उहाँले बताउनुभयो ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष करिब ७ लाख मानिसहरूको मृत्यु आत्महत्याबाट हुने गरेको छ । नेपालमा हरेक दिन आत्महत्याका कारण २० जनाभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । ९० प्रतिशतभन्दा बढी आत्महत्या मानसिक स्वास्थ्यका कारण हुने गरेको एक अनुसन्धानले देखाएको छ ।
मकवानपुर जिल्लाको सन्दर्भमा हेर्दा पछिल्लो तीन वर्षमा ३ सय ४९ जनाले आत्महत्या गरेका छन्, जसमध्ये २२२ जना पुरुष र १२७ जना महिला रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ । जिल्लामा आर्थिक वर्ष २०८०÷८१ मा १४० जना, २०८१÷८२ मा १३० जना र चालु आर्थिक वर्ष २०८२÷८३ मा हालसम्म ७९ जनाले आत्महत्या गरेका छन् ।
नेपाल सरकारले पटक–पटक विभिन्न कानुनी तथा संस्थागत व्यवस्था गरी आत्महत्या न्यूनीकरणको प्रयास गरेको छ । सरकारले दिगो विकासको लक्ष्य अन्तर्गत आत्महत्याबाट हुने मृत्युदर हरेक १ लाख जनसंख्यामा १६ दशमलव ५ बाट क्रमशः घटाएर सन् २०३० सम्ममा ४ दशमलब ७ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । मुलुकी अपराध संहिता २०७४ मा आत्महत्या गर्न दुरुत्साहन दिन नहुने (दफा १८५) भनी आत्महत्या नियन्त्रणलाई कानुनी व्यवस्था गरिएको छ । त्यसैगरी राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आत्महत्या रोकथामसम्बन्धी सञ्चारकर्मीहरुका लागि मार्गदर्शन २०८० कार्यान्वयनमा ल्याएको छ ।










