Home मुख्य समाचार ज्ञानदा माविमा अंग्रेजी माध्यममा पठनपाठन हुने

ज्ञानदा माविमा अंग्रेजी माध्यममा पठनपाठन हुने

पत्रकार सम्मेलनमा विद्यालयका योजनाबारे जानकारी दिनुहुँदै प्रधानाध्यापक विनोदकुमार गुप्ता ।

हेटौँडा : हेटौँडा–१० स्थित ज्ञानदा माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ बाट कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने तयारी गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरेर विद्यालयले अंगे्रजी माध्यम सञ्चालनबारे जानकारी दिएको हो ।

हाल विद्यालयमा ३ सय ३५ जना विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिँदै यसअघि कक्षा ५ सम्म अंग्रेजी माध्यममा पठनपाठन गरिरहेकोमा यसै शैक्षिक सत्रबाट कक्षा ६ देखि ८ सम्म अंग्रेजी माध्यम थप गरिएको विद्यालयका प्रधानाध्यापक विनोदकुमार गुप्ताले जानकारी दिनुभयो । विद्यालयमा हाल मावि तहमा ५ जना, निमावि तहमा १ जना, प्राथमिक तहमा ६ जना र बालविकास सहजकर्ता २ जना कार्यरत रहेकोसमेत कार्यक्रममा जनाइएको छ । प्रधानाध्यापक गुप्ताले सामाजिकरुपमा स्थापित पूर्वविद्यार्थीहरुको उदाहरण दिँदै विद्यालयलाई विभिन्न समस्याका कारण शैक्षिक गुणस्तर प्राप्त गर्न सकस भइरहेको बताउनुभयो ।

२०२८ सालमा व्यक्तिको निजी घरमा स्थापित यस विद्यालयको अहिले पनि आफ्नै जमिन छैन । २०३५ सालदेखि नै भुटनदेवी मन्दिरको जग्गामा भवन स्थापित गरी पठनपाठन गरिरहेको जनाइएको छ । २०५२ सालदेखि मावि तह सञ्चालन भएको विद्यालयको नयाँ भवन निर्माणमा सुस्तता आएपछि विद्यालयले झनै समस्या खेपिरहेको प्रधानाध्यापक गुप्ताको भनाइ छ । विद्यालयले हालसम्म प्राप्त गरेको प्रगतिबारे जानकारी दिँदै एसईईलक्षित अतिरिक्त तथा कमान्डो कक्षासमेत सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

विद्यालय सुधारका लागि पूर्वविद्यार्थी एल्मुनाइ तथा पूर्वशिक्षक एल्मुनाइ पुनर्गठन गर्दै सक्रिय बनाउने योजना रहेको प्रधानाध्यापक गुप्ताले जानकारी दिनुभयो । निर्माणाधीन भवनको निर्माण अविलम्ब सम्पन्न गर्न लगाई अंग्रेजी माध्यमका कक्षाहरु नयाँ भवनबाट सुरु गरिने र नयाँ शैक्षिक सत्रबाट विद्यार्थीका लागि यातायातको व्यवस्था गर्ने उहाँले बताउनुभयो । कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षाको सुरुवात गर्ने योजना बनाएको विद्यालयले गणित, विज्ञान र कम्प्युटर ल्याबलाई अपग्रेड गरी सामाजिक ल्याबको सुरुवात गरिने प्रधानाध्यापक गुप्ताले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य रुद्रबहादुर हाडाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा हेटौँडा १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामाले वडा कार्यालय तथा उपमहानगरपालिकासमेतले विद्यालयमा क्रमिक सुधार गरी आगामी ५ वर्षमा नमुना विद्यालय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Exit mobile version