हेटौँडा : हेटौँडा–५, पिप्लेमा डायनामिक म्युजिक एकेडेमी सञ्चालनमा आएको छ । बिहिबार हेटौँडा–५ का वडाध्यक्ष सुशील घिमिरे र वरिष्ठ साहित्यकार देवराज खरेलले संयुक्त रूपमा एकेडेमीको उद्घाटन गर्नुभयो ।
१५ वर्षदेखि संगीत शिक्षकको रूपमा अध्यापन गराउँदै आउनुभएका आकाश खड्काले संगीत क्षेत्रको व्यावसायिक विकासका लागि एकेडेमी सञ्चालनमा ल्याउनुभएको हो । हेटौँडामा संगीतको आधिकारिक र व्यवस्थित विद्यालयको अभाव रहेकाले साथीहरूको आर्थिक सहयोगमा एकेडेमी सुरु गरिएको सञ्चालक खड्काले बताउनुभयो । पिप्लेस्थित ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालयको ठिक अगाडि साढे २ कठ्ठा जग्गा १५ वर्षका लागि भाडामा लिएर एकेडेमीले आफ्नै भवन निर्माण गरेको छ । एकेडेमीमा मादल, गितार, पियानो र गायन लगायतका ६ वटा कक्षा सञ्चालन गरिनेछ ।
काठमाडौँको ‘एनकेआईसि म्युजिक’ संस्थाबाट एकेडेमीले मान्यता पाइसकेकोले यहाँ संगीत सिक्नेहरुले आधिकारिक शैक्षिक प्रमाणपत्र प्राप्त गर्ने उहाँले बताउनुभयो । एकेडेमीले अहिले बेसिक, एडभान्स र डिप्लोमा कोर्स सञ्चालन गर्ने तयारीमा छ । एकेडेमीले प्रत्येक कोर्स कम्तिमा ६ महिनासम्म सञ्चालन गर्ने गरी तयारी गरेको छ भने मासिक शुल्क २ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । उद्घाटनको अवसरमा पहिलो दिन ५ जनाले भर्ना लिएको सञ्चालक खड्काले बताउनुभयो । हाल एकेडेमीमा ५ जना संगीत शिक्षक हुनुहुन्छ ।
सिटीईभिटीसँग पनि सहकार्यका लागि कुरा चलिरहेको सञ्चालकको खड्काको भनाइ छ । अगामी दिनमा डान्स एकेडेमी र त्यहाँ सिक्नेहरुको सहजताका लागि रेकर्डिङ स्टुडियो खोल्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो । आफू संगीत पढेर लामो समयदेखि यसै क्षेत्रमा अध्यापन गरिरहेकोले एकेडेमी सञ्चालन गर्न सजिलो हुने र विद्यार्थीहरुलाई यसप्रति आकर्षित गर्न सकिने सञ्चालक खड्काको विश्वास छ । एकेडेमीका मादल प्रशिक्षक प्रलय चौलागाईले यसबाट रियालिटी सो लगायतका उत्कृष्ट कार्यक्रमहरु सञ्चालन गर्न सकिने र जीविकोपार्जन गर्न सकिने बताउनुभयो ।











