हेटौँडा : बागमती प्रदेशका विभिन्न जिल्लामा भएका विभिन्न घटनामा परी ५ जनाको मृत्यु भएको छ । मकवानपुरको इन्द्रसरोवर गाँउपालिका–३, सिस्नेरीमा मच्छ नारायण रोडा उद्योगमा ट्रिपर चालकको मृत्यु भएको छ । काभ्रे जिल्लाको नवबुद्ध नगरपालिका–२ घर भई हाल सिस्नेरीस्थित उद्योगमा कार्यरत ३५ वर्षीय मदन गौतमको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
खाना खाइरहेको बेलामा अचानक पेट दुखेपछि गौतमलाई उपचारका लागि अस्पताल लगिएको थियो । स्थानीय सिस्नेरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि गौतमलाई काठमाडौं लगिएको थियो । गौतमको उपचारको क्रममा बयोधा अस्पतालमा बिहिबार राती साढे १० बजे मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । घटनासम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै बिहिबार नै धादिङको बेनीघाट रोराङ गाँउपालिका–९, सेलाजुङका ५ वर्षीय सविन चेपाङको डुबेर मृत्यु भएको छ । घर नजिकै खेल्ने क्रममा स्थानीय सन्दिप चेपाङको सिचाई पानी ट्याङ्कीमा खसेका सविनको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दोलखा जिल्लाको जिरी नगरपालिका–४, पटासेका ७८ वर्षीय पर्तबहादुर तामाङको उपचारको क्रममा मृत्यु भएको छ । गत चैत्र २५ गते मलामी गएर घर फर्कने क्रममा घर नजिकैको बारीको कान्लाबाट लडेर घाईते भएका पर्तबहादुरलाई उपचारका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस्तै रामेछाप जिल्लाको मन्थली–२, पिप्ले सानोचौरका ५९ वर्षीया चन्द्रावती श्रेष्ठको रुखबाट लडेर मृत्यु भएको छ । आफ्नै घर नजिकैको बारीमा रहेको कुटमेरोको रुखबाट घाँस झार्ने क्रममा लडेर चन्द्रवातीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–१, भिर्कोटमा बिहिबार साँझ साढे ७ बजेको समयमा बारीको कान्लाबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुने ५२ वर्षीय राजन उप्रेती रहेको प्रहरीले जानकारी दिएको छ । बारीको कान्लाबाट १० फिट तल खसेका उप्रेतीको घटनास्थलमै मृत्यु भएको हो ।











