सवारी जाँच गर्दै ट्राफिक प्रहरी । फाइल तस्वीर ।

हेटौँडा : बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रदेशका १० वटा जिल्लामा सवारी दुर्घटना न्यूनीकरण र सडक सुरक्षाका लागि विशेष सक्रियता देखाएको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यलयले काठमाडौं, भक्तपुर र ललितपुर बाहेक प्रदेशका १० जिल्लाहरूमा यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउन मादक पदार्थ सेवन (मापसे) र लागुऔषध सेवन (लापसे) चेकिङलाई उच्च प्राथमिकता दिएको जनाएको छ ।

चालु आर्थिक वर्ष २०८२/०८३ को चैत मसान्तसम्म प्रदेशका १० वटा जिल्लाहरूमा १ हजार ५ सय ४३ जना चालकहरूले मादक पदार्थ सेवन गरी सवारी चलाएको भेटिएको छ । उनीहरूलाई नियमअनुसार कारवाही गरी हालसम्म ८ लाख १६ हजार ५ सय रुपैयाँ जरिवाना रकम संकलन गरिएको कार्यलयले जानकारी दिएको छ ।

त्यसैगरी, सवारी दुर्घटनाको प्रमुख कारणमध्येको एक लागुऔषध सेवनतर्फ पनि प्रहरीले कडा निगरानी बढाएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्मा नेपाल प्रहरी प्रधान कार्यालय, जनस्वास्थ्य कार्यालय र स्थानीय निकायहरूबाट प्राप्त १ हजार ७ सय ६३ थान ‘ड्रग्स टेस्ट किट’ को प्रयोग गरी १ हजार ३ सय १२ जना चालकको परीक्षण गरिएको हो । उक्त परीक्षणका क्रममा १ सय ९७ जना चालकले लागुऔषध सेवन गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिई कसूर दर्ता गरेर कानुनी बमोजिम कारवाही गरिएको छ ।