हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८३ को तयारीका लागि नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको छ । उपमहानगरको शिक्षा विकास महाशाखाले सोमबार एक सूचना जारी गर्दै नयाँ शैक्षिक सत्र २०८३ को तयारी गर्न विद्यालयहरुलाई निर्देशन दिएको हो ।
शिक्षा विकास महाशाखाले नयाँ सत्रको तयारीका लागि विभिन्न काम समयमै पूरा गर्न आग्रह गरेको छ । यसअन्तर्गत विद्यालयहरुले वार्षिक कार्यतालिका तथा कार्यपात्रो बैशाख ७ गतेभित्र निर्माण गरिसक्नु पर्नेछ । यसैगरी विद्यालय सुधारको योजना बैशाख १२ गतेभित्र र शैक्षिक सत्र २०८२ को कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुको प्राप्ताङ्क र हाजिरी १५ गतेभित्र अनिवार्यरुपमा विद्यालयले अद्यावधिक गर्नुपर्नेछ ।
बैशाख १० गतेदेखि घरदैल कार्यक्रम गर्न शिक्षा विकास महाशाखाले विद्यालयहरुलाई निर्देशन दिएको छ । महाशाखाले एकीकृत पाठ्यक्रमसम्बन्धी कस्टमाइज्ड तालिम तथा सूचना प्रविधि स्रोत शिक्षकको तालिममा शिक्षकहरुलाई अनिवार्यरुपमा सहभागी गराउन विद्यालयहरुलाई अनुरोध गरेको छ । साथै विद्यालयहरुलाई समयमै पाठ्यपुस्तक वितरण गर्न पनि निर्देशन दिएको छ । यस वर्ष शैक्षिक सत्र बैशाख १५ गतेदेखि सुरु हुनेछ ।











