प्लेयर अफ द म्याच मधेश प्रदेशका अरनिको यादवलाई ट्रफी हस्तान्तरण गरिँदै ।

हेटौँडाः प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता–२०८२ को उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश भिड्ने भएका छन् । विभागीय टोली आर्मी क्लब अंक तालिकाको शीर्ष स्थानमा र सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा रहँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार समूह चरणको खेल सकिएसँगै फाइनल खेल्ने दुई टोलीको टुङ्गो लागेको हो ।

आर्मी क्लब जारी प्रतियोगितामा अपराजित रहेको छ । समूह चरणमा ८ खेल जितेको आर्मी क्लबले एउटा खेलमा अंक बाँडेको छ भने सुदूरपश्चिम प्रदेश ६ खेलमा जित र ३ वटामा हार व्यवहोरेको छ । विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबिचको खेल वर्षाले प्रभावित हुँदा दुबै टोलीले अंक बाँडेका थिए ।

प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा बुधबार आर्मी क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । जनकपुरको रामजानकी क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १ विकेटले पराजित गरेको हो । टस जितेर पहिले व्याटिङ गरेको लुम्बिनी प्रदेशले ३९ ओभर २ बलमा १३८ रनमा अल आउट भएको थियो । लुम्बिनीका रन्जित खत्री खड्काले २८ रन र कप्तान देव खनालले २३ रन बनाए । आर्मी क्लबका कुशल मल्लले ४ विकेट लिए ।

१३९ रनको लक्ष्य पछ्याएको आर्मी क्लब २५ ओभर २ बलमा ९ विकेट गुमाएर लक्ष्य भेटायो । आर्मी क्लबका कुशल मल्लले ४१ रन र अर्जुन साउदले २८ रन बनाए । लुम्बिनीका सन्तोष यादवले ५ र निर्मल गुरुङले ४ विकेट लिए । खेलमा उत्कृष्ट अलराउन्डर प्रदर्शन गरेका कुशल मल्ल प्लेयर अफ द म्याच घोषित भए ।

यस्तै, बुधबार नै वीरगञ्जमा भएको अर्को खेलमा मधेश प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गरेको छ । वीरगञ्जको नारायणी रंगशालामा भएको खेलमा टस हारेर सुरुमा व्याटिङको निम्तो पाएको नेपाल पुलिस क्लब ४० ओभर ३ बलमा १३० रनमा अल आउट भएको थियो । पुलिसका कुशल भुर्तेलले ३९ रन र शंकर रानाले २७ रन बनाए । मधेश प्रदेशका पवन सर्राफ, विशाल पटेल र आशिक बैठाले समान ३/३ विकेट लिए ।

१३१ रनको लक्ष्य पछ्याएको मधेश प्रदेश २४ ओभर १ बलमा ६ विकेट गुमाएर लक्ष्य भेटाएको हो । मधेश प्रदेशका अरनिको प्रसाद यादवले ६५ रन बनाए । पुलिस क्लबका गुल्सनले ३ विकेट लिए ।

बुधबार समूह चरणको खेल सकिएसँगै यस वर्षको जय ट्रफी खेल्ने ६ वटा टोलीको पनि टुङ्गो लागेको छ । पछिल्लो दुईवटा संस्करणमा ४ वटा टोलीमात्रै सहभागी भएको जय ट्रफीमा यो वर्ष ६ वटा टोली सहभागी हुन पाउनेछन् । त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशसँगै शीर्ष ६ मा रहेका मधेश प्रदेश, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश जय ट्रफी खेल्नेछन् ।