हेटौँडा : हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ५ को वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । नयाँ वर्षको दिन मंगलबार वडा कार्यालय भवनको उद्घाटन गरिएको हो । भवन उद्घाटनसँगै वडा कार्यालय अब आफ्नै भवनमा सञ्चालन हुने भएको छ ।
हेटौँडा–५, राईटोलमा रहेको डेढ कठ्ठा सार्वजनिक जग्गामा निर्मित भवन नगरप्रमुख मिना कुमारी लामाले उद्घाटन गर्नुभयो । बागमती प्रदेश सरकार, हेटौँडा उपमहानगरपालिका र वडाको संयुक्त लगानीमा १ करोड ६ लाख रुपैयाँको लागतमा १२ कोठाको भवन निर्माण भएको हो । स्थानीय उपभोक्ता समितिद्वारा २०८१ साल माघ महिनादेखि सुरु भएको निर्माण कार्य गत चैत महिनामा सम्पन्न भएको थियो । हेटौँडा–५ का वडाध्यक्ष सुशील घिमिरेको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका अन्य वडाका वडाध्यक्षहरु र विभिन्न सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । हेटौँडा उपमहानगरका १९ वटा वडा मध्ये वडा नम्बर २ र १६ को कार्यालय अहिले भाडाको घरमा सञ्चालन भइरहेको छ । यस्तै, वडा नम्बर ६ को कार्यालय पनि आधा भाडाकै घरमा सञ्चालनमा रहेको छ ।











