हेटौंडाः हेटौंडा–५, सानोपोखराको खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबले सञ्चालनमा ल्याएको फुड बैंकबाट आज १५ परिवारले खाद्यान्न लिएका छन् । क्लबका अध्यक्ष उमेश महतको संयोजकत्वमा सानोपोखराको गणेश मन्दिर परिसरमा रहेको क्लबको कार्यालयबाट बिहान ७ बजेदेखि ९ बजेसम्म फुड बैंक सञ्चालन भइरहेको छ ।
फुड बैंकले प्रतिव्यक्ति ४ किलो चामल, दाल, तेल, नुन लगायतको खाद्यान्न हस्तान्तरण गरेको छ । खाद्यान्न हस्तान्तरण कार्यक्रममा क्लबका कोषाध्यक्ष माधवलाल श्रेष्ठ, सचिव उत्तर दुलाल, मकवानपुर जिल्ला फुटबल संघका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठ, क्लबका सदस्य विष्णु पुडासैनी लगायतको उपस्थिति रहेको सल्लाहकार विशाल राज महतले जानकारी दिनु भयो । त्यसैगरी अहिलेको कोरोना महामारीको अवस्थामा दैनिक छाक टार्न समस्या भएका, ज्याला–मजदुरी गर्नेहरुलाई लक्षित गरेर फुड बैंक सञ्चालन गरिएको क्लबका सल्लाहकार विशाल राज महतले बताउनुभयो । हुनेले दिएर र नहुनेले लिएर जाने अभियानका साथ फुड बैंकमा सञ्चालन गरिएको हो ।
यस्तै हेटौंडा–४, कपुर कम्प्लेक्स अगाडि मदन भण्डारी फाउण्डेशन मकवानपुरले सञ्चालन गरेको फुड बैंकमा आज ५० जनाले खाद्यान्न लिएका छन् । कोरोना महामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका श्रमजिवी तथा विपन्न परिवारलाई लक्षित गरेर सञ्चालन गरेको फुड बैंक बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालनमा रहेको छ ।