अभिभावक भेलामा सहभागी अभिभावकहरु ।

हेटौँडा : हेटौँडा–५, पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयको ४६ औँ अभिभावक भेला सम्पन्न भएको छ । शनिबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिन्द्रनाथ पोखरेलको सभाध्यक्षता भेला सम्पन्न भएको हो ।

भेलाले विद्यालयका प्रधानाध्यापक भरत अर्यालले प्रस्तुत गरेको विद्यालय विकास प्रस्ताव प्रतिवेदन पारित गरेको छ । यसका साथै प्रधानाध्यापक अर्यालले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन पनि प्रस्तुत गर्नु भएको थियो । अभिभावक भेलाको अवसरमा विद्यालयले पूर्व पिटिए अध्यक्ष एवम् साहित्यकार देवराज खरेललाई सम्मान्न गरेको छ ।

अभिभावक भेलाबाट शिक्षा ऐन २०२८ को दफा १२ बमोजिम नयाँ विद्यालय व्यवस्थापन समिति निर्माण प्रक्रिया अगाडि बढेको विद्यालयका सहायक प्रधानाध्यापक चिरन्जीवी घिमिरेले जानकारी दिनुभयो । शनिबार भएको भेलाबाट चार जना अभिभावक नयाँ समितिका लागि सर्वसहमत चयन भएका छन् । चयन हुनेहरुमा साविक अध्यक्ष रविन्द्रनाथ पोेखरेल, धनमाया लामा, कविर विक्रम राना र सरिता सञ्जेल छन् । यी चार जनाको समूहले १ जना महिलासहित २ जना सदस्य मनोनित गर्ने सहायक प्रधानाध्यापक घिमिरेले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिमा एक जना वडाका प्रतिनिधि, एक जना शिक्षक र प्रधानाध्यापक पदेन सदस्य सचिवको रुपमा व्यवस्था छ । हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा भएको भेलामा शिक्षा विकास महाशाखाका अधिकृत रमेश विडारीको विशिष्ट आतिथ्य रहेको थियो ।