हेटौँडा : जिल्ला प्रहरी कार्यालय बाराले एक अवैध मदिरा भट्टी नष्ट गरेका छन् । शनिबार बिहान इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अमृतगंजखजानीबाट खटिएको संयुक्त प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका–२ स्थित सञ्चालनमा रहेको एक अवैध मदिरा भट्टी नष्ट गरेको जनाएको छ ।

प्रहरीले भट्टीबाट १२ हजार रुपैयाँ बराबरको दुई सय लिटर कच्चा पदार्थ, २ हजार रुपैयाँ बराबरको २० लिटर तयारी मदिरा र मदिरा उत्पादनमा प्रयोग हुने ठूला ड्रम र गेलनहरू समेत नष्ट गरेका छन् ।

यस्तै, बारा कै सुवर्ण गाउँपालिका–१ सोलखपुर क्षेत्रबाट भन्सार छली ल्याएका सामानहरू नियन्त्रणमा लिएको छ । शुक्रबार राति साढे ९ बजेको समयमा इलाका प्रहरी कार्यालय कवहीगोठ र प्रहरी चौकी अमृतगंजखजानीबाट खटिएको संयुक्त गस्ती टोलीले भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरेको ४ लाख १७ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो । प्रहरीले २० थान सूर्य एलइडी टिभी, २० थान सूर्य ग्यास चुल्हो, २४ थान साडी र ५ थान टर्च लाइट बरामद गरेको छ । बरामद गरेको सामानहरू नियन्त्रणमा लिइएका थप अनुसन्धानका लागी वीरगन्ज भन्सार कार्यालय लगिएको प्रहरीले जनाएको छ ।