Home मुख्य समाचार वनस्पति उद्यान परिसरमा नक्षत्र बाटिका स्थापना

वनस्पति उद्यान परिसरमा नक्षत्र बाटिका स्थापना

हेटौँडा : हेटौँडा–१३ स्थित वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरको वृन्दावन वनस्पति उद्यान परिसरमा नक्षत्र बाटिका स्थापना गरिएको छ । वनस्पति विभागको ६६ औँ वार्षिक उत्सव तथा २७ औँ वनस्पति दिवसको अवसरमा आइतबार बाटिका स्थापना गरिएको हो ।

धार्मिक बाटिकाको रुपमा स्थापना गरिएको नक्षत्र बाटिकामा २७ नक्षत्रका नमुना वनस्पति प्रजातिहरू वृत्ताकार नक्सांकन गरी रोपिएको छ । कार्यक्रमका प्रमुख अतिथि कृषि तथा वन विश्वविद्यालयका प्राध्यापक डा. बलराम भट्टले जन–सहभागितासहित गरिएका यस्ता कार्यक्रमले वन, वनस्पति र वातावरणको सांस्कृतिक महत्व जनस्तरमा बुझाउन सजिलो हुने भएकोले यस्ता कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिनुभयो ।

केन्द्रका प्रमुख हेमराज पौडेलले वैदिक सनातन संस्कृति र मानव सभ्यता एक अर्काका परिपूरक मानिने र प्रकृतिलाई संस्कृतिसँग जोड्दा वातावरण सन्तुलनमा सहयोग पुग्ने भएकोले बाटिकाको स्थापना गरिएको जानकारी दिनुभयो । प्रचलित धार्मिक मान्यताअनुसार २७ नक्षत्रका वनस्पति प्रजातिहरुमा उत्तराषाढा–कटहर, श्रवणा–आँक, धनिष्ठा–शमी, शतभिषा–कदम, पूर्वभाद्रपद–आँप, उत्तरभाद्रपद–नीम, रेवती–महुवा, अश्विनी–कुचिला, भरणी–अमला, कृतिका–डूम्री, रोहिणी–जामुन, मृगशिरा–खयर, आद्रा–सिसौ, पुनर्वसु–बाँस रहेको मानिन्छ । यसैगरी पिपल–पुष्य, नागेश्वर–अश्लेषा, बर–मघा, पलाश–पूर्वफाल्गुणी, काभ्रो–उत्तरफाल्गुणी, रिठा–हस्ता, बेल–चित्रा, अर्जुन–स्वाती, कंकेरो–विशाखा, बकुल्पुश्प–अनुराधा, सिमल–जेष्ठा, राजवृक्ष–मूल र वेत–पूर्वशाढा वनस्पतिहरु पर्दछन ।

विशाखा नक्षत्रको कंकेरो वनस्पति प्रजातिबाहेक अरु सबै प्रजातिहरू नेपालमै उपलब्ध हुनसक्ने भएकाले यस बाटिकामा सबै प्रजातिहरू संकलन गरी रोप्दै जाने र व्यवस्थित गरिने वनस्पति अनुसन्धान केन्द्रका प्रमुख पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा केन्द्रका बैज्ञानिक अधिकृत चन्द्रकला ठाकुर, केन्द्रका बनस्पति सहायक युगल अर्याल, हेटौँडा–१३ को सहारा टोल विकास संस्थाका अध्यक्ष अशोककुमार डिम्डुङलगायत केन्द्रका कर्मचारी तथा स्थानीयहरुको सहभागिता थियो ।

Exit mobile version