हेटौँडाः नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले हेटौँडा–१०, गोरक्षेश्वरस्थित संस्कृत वेद विद्याश्रमलाई खाद्यान्न सहयोग गरेको छ । संगठनको ४७ औं स्थापना दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा संगठनका राष्ट्रिय समिति उपमहासचिव श्रीराम दहालले विद्याश्रमलाई खाद्य सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो ।
संगठनले विद्याश्रमका बटुकहरुका लागि चामल, दाल, तेल, चिउरा, भुजालगायतका १२ हजार बराबरको खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरेको जनाएको छ । स्थापना दिवसको अवसरमा संगठनले प्रकाशन गरेको शैक्षिक सत्र २०८३ को क्यालेण्डर लोकार्पण गरिएको थियो ।
नेपाल शिक्षक राष्ट्रिय संगठनका राष्ट्रिय समिति उपमहासचिव दहालको प्रमुख आतिथ्य तथा संगठनका जिल्ला उपाध्यक्ष चन्द्रादेवी लामा बलको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल बौद्धिक परिषद्का केन्द्रीय सदस्य मोहनप्रसाद शर्मा, संगठनको बागमती प्रदेश समितिका सदस्यहरु लक्ष्मीकुमारी अधिकारी, सुनिल गौतम, बालकुमार श्रेष्ठ, पेशागत महासंघ बागमती प्रदेश उपाध्यक्ष सीताराम दाहाल, शिक्षकहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद लामिछाने, भुटनदेवी माविका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेलगायतको उपस्थिति थियो ।
नेपालभरका सबै शिक्षकहरुको साझा संगठनको रुपमा रहेको नेपाल राष्ट्रिय शिक्षक संगठनको विसं २०३६ चैत्र २९ गते हेटौँडाको भुटनदेवी माविका शिक्षक बद्रीप्रसाद खतिवडाको अध्यक्षतामा समिति गठन भएको थियो । तत्कालीन अवस्थामा शिक्षकहरुको तलब, बिदालगायतका सुविधाविहीन अवस्थालाई सरकारद्वारा सम्बोधन गराउन समन्वयका लागि संगठनको स्थापना भएको थियो ।
