करिब ५ दशकअघि पत्ता लागेको एचआईभी/एड्सको जोखिम अहिले पनि उत्तिकै रहेको पाइन्छ । एचआईभी भाइरसको संक्रमण भएपछि मानिसलाई एड्स रोग लाग्न सक्छ । एचआईभी भाइरसले शरीरको प्रतिरोधात्मक क्षमतालाई नष्ट गर्छ, जसले एड्सको अवस्था निम्त्याउन सक्छ । कुनैबेला एचआईभी भाइरस संक्रमण भएपछि अधिकांश मानिसलाई एड्स रोग लाग्दथ्यो । एचआईभी संक्रमण भइसकेपछि उक्त भाइरसलाई शरीरबाट हटाउन सकिँदैनथ्यो । जसले गर्दा ढिलो/चाँडो एड्सको चरणमा पुग्ने गर्दथ्यो । तर पछिल्लो समय एचआईभी भाइरसको प्रभाव कम गर्न औषधिको विकास भइसकेको छ । मृत्युको जोखिमको आधारमा एड्स सामान्य बन्दै गए पनि संक्रमणको आधारमा यसको जोखिम अझै पनि उच्च नै रहेको पाइन्छ ।

मकवानपुर जिल्लामा हालसम्म ५ सय ९३ जना एचआईभी संक्रमित भएका छन् । संक्रमितमध्ये ५० जनाको मृत्यु भइसकेको छ । जिल्लामा हाल ३ सय ७५ जना एचआईभी/एड्स संक्रमित रहेका छन् । अघिल्लो आर्थिक वर्षसम्म ३ सय ६१ संक्रमित रहेकोमा चालु आर्थिक वर्ष २०८२/०८३ को ९ महिनाको अवधिमा एचआईभी/एड्सका १४ जना नयाँ संक्रमितहरु थपिएका छन् । साउनयता चैत महिनासम्म जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा परीक्षण गरेका १४ जनामा एचआईभी/एड्स संक्रमण भेटिएको थियो । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ४० जनामा संक्रमण देखिएको थियो । त्यसभन्दा अघिल्लो वर्ष ३८ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्यांक छ । संक्रमितमध्ये हाल ३ सय ३८ जनाले नियमितरुपमा औषधि सेवन गरिरहेका छन् ।

असुरक्षित यौन सम्पर्क र संक्रमित रगतको प्रयोगबाट यो रोग सर्दछ । संक्रमित सुई तथा अन्य धारिला वस्तुको साझा प्रयोग गर्दा र गर्भावस्था तथा स्तनपानका क्रममा आमाबाट शिशुमा पनि यो रोग सर्न सक्छ । यसको पूर्ण निको हुने उपचार नभए पनि एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) बाट संक्रमितहरू लामो र स्वस्थ जीवनयापन गर्न सक्छन् । एचआईभी संक्रमितका लागि निःशुल्क औषधि उपचारको व्यवस्था रहेको छ । केही वर्ष अघिसम्म लागूपदार्थ दुव्र्यसनीहरु एचआईभी संक्रमणको उच्च जोखिममा रहेकोमा पछिल्ला वर्षहरुमा असुरक्षित यौनसम्पर्क गर्नेहरु एचआईभी संक्रमणको उच्च जोखिममा देखिएका छन् । एचआईभी संक्रमण भएपछि समयमै औषधि सेवन नगरेमा यसले एड्सको रुप लिन्छ र संक्रमित व्यक्तिको मृत्यु हुनसक्छ ।

एचआईभी संक्रमणको उच्च जोखिम कायमै रहेको हुँदा आम नागरिक र राज्यका सरोकारवाला निकायले बढी सतर्कता अपनाउनु आवश्यक छ । एड्सबाट बच्ने प्रमुख उपाय यौन अनुशासन हो । रोजगारीका लागि विदेशिएका र स्वदेशमै असुरक्षित यौन व्यवसायमा संलग्नहरु यसको उच्च जोखिममा रहेका छन् । सुईको प्रयोग गर्ने लागूऔषध दुव्र्यसनीहरु पनि एचआईभी संक्रमणको जोखिममा रहेको पाइन्छ । एआरटी उपचार पद्दतिले एचआईभी भाइरसको संख्या बढ्न नदिने र भाइरसको संख्यामा गिरावट ल्याई शरीरको प्रतिरक्षा शक्तिलाई कायम गर्दछ । एआईभी संक्रमण हुनै नदिने र संक्रमण भइहालेमा औषधिको अनुशासित सेवन गर्नु उचित हुनेछ । गर्भवती महिलाहरुले अनिवार्य एचआईभी परीक्षण गराएमा पेटमा रहेको शिशुलाई सर्नबाट बचाउन सकिनेबारे सचेतना बढाउनुपर्छ । एचआईभी÷एड्सबारे समाजमा रहेको भ्रम र अन्धविश्वासलाई हटाउनु पनि उत्तिकै आवश्यक रहेको छ ।