हेटौँडा : नव वर्ष २०८३ को अवसरमा स्वतन्त्र पत्रकार संघ मकवानपुरले ‘काठमाडौंको पत्रकारिता’ विषयक् अन्तरक्रिया आयोजना गरेको छ । सोही अवसरमा शुभकामना आदानप्रदानसँगै संघका संस्थापक अध्यक्ष तथा नवनिर्वाचित केन्द्रीय महासचिव सुरेश श्रेष्ठलाई बधाई व्यक्त गरिएको छ ।
कार्यक्रममा हेटौँडाबाटै पत्रकारिता सुरु गरी लामो समयदेखि कान्तिपुर दैनिकमा कार्यरत होम कार्कीले मकवानपुरबाट काठमाडौं हुँदै विभिन्न देशसम्म गरेको रिपोर्टिङ अनुभव र समाचार लेखनबारे आफ्नो अनुभव साझा गरे । उनले डिजिटल माध्यम र प्रविधिको प्रभावकारी प्रयोगमार्फत पत्रकारिता अझ सहज र प्रभावकारी बन्न सक्ने बताए । साथै, पुराना पाठक र नयाँ डिजिटल पाठक दुवैलाई समेट्ने गरी सन्तुलित सामग्री उत्पादन आवश्यक रहेको उनको भनाइ थियो ।
उनले जिल्लाबाट उठेका विषयलाई राष्ट्रिय सञ्चारमाध्यमले प्रभावकारी रूपमा तयार गर्न सक्ने भए पनि जिल्लास्तरमा त्यस किसिमको अभ्यासको कमी रहेको बताए । उनले डेप्थ रिपोर्टिङ र बिट रिपोर्टिङको अभ्यास विस्तार गर्नुपर्नेमा जोड दिँदै स्थानीय पत्रकारले आफ्नै एजेन्डा निर्माणमा ध्यान दिनुपर्ने धारणा राखे । हेटौँडामा क्रियाशील, कुनै दलमा आबद्ध नभएका स्वतन्त्र पत्रकारहरूको सहभागितामा आयोजित कार्यक्रमको अध्यक्षता संघ मकवानपुर शाखाका अध्यक्ष राजन घिमिरे अनुरागले गरेका थिए । स्वतन्त्र पत्रकार संघ नेपालका महासचिव सुरेश श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार संघ मकवानपुरका निवर्तमान अध्यक्ष गोकुल अधिकारीलगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
