हेटौँडा : हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालय र दिव्यज्योति आधारभूत विद्यालय मर्ज भएका छन् । हेटौँडा उपमहानगरपालिका नगर शिक्षा समितिको गत फागुन ३० गतेको बैठकले यी दुबै विद्यालय मर्ज गर्ने निर्णय गरेको थियो ।

आउँदो शैक्षिक सत्र २०८३ देखि दुबै विद्यालय मिलाएर प्रगति माविकै नामबाट सञ्चालित हुनेछ । प्रगति माविमा हाल १ हजार २ सय ५० जना विद्यार्थी अध्ययनरत छन् भने दिव्यज्योतिमा १ सय ९३ जना विद्यार्थी रहेका छन् । यस्तै, प्रगतिमा ५० जना र दिव्यज्योतिमा १० शिक्षक र कर्मचारी कार्यरत छन् ।

विद्यालयले आवश्यकता अनुसार निर्णय गरेर कर्मचारीहरुको व्यवस्थापन गर्ने प्रगति माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोर पराजुलीले बताउनुभयो । उहाँका अनुसार साबिकको दिव्यज्योतिको भवनमा प्रगति माविको ब्लक ‘डी’ सञ्चालन हुनेछ । उक्त ब्लकमा यातायात सुविधासहित प्ले ग्रुप र नर्सरीदेखि कक्षा ३ सम्मको पठनपाठन सञ्चालन हुनेछ ।

वृहत विद्यालयको अवधारणाअनुसार विद्यालयलाई मर्ज गरिएको र प्रभावकारी व्यवस्थापन भए अझै राम्रो हुने प्रधानाध्यापक पराजुलीको भनाइ छ । प्राथमिक तहमा विद्यार्थी संख्या कम रहेको भन्दै साना बालबालिकाहरुका लागि अनुकूल पूर्वाधार विकास गरी विद्यार्थी बढाउने प्रयास गरिने उहाँले बताउनुभयो ।