हेटौँडाः सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा हेटौँडामा हास्यव्यङ्ग्य विशेष प्रतियोगितात्मक कार्यक्रम हुने भएको छ । सिस्नुपानीले एक सूचना जारी गर्दै आगामी बैशाख १९ गते शुक्रबार हेटौँडा उपमहानगरपालिकाको प्रवद्र्धनमा कार्यक्रम हुन लागेको जनाएको छ ।
प्रतियोगितामा मकवानपुर जिल्लाभित्र कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन् । प्रत्येक समूहमा न्यूनतम २ देखि अधिकतम ५ जनासम्म सहभागी हुन पाउने र आवश्यक सामग्री आफैं व्यवस्थापन गर्नुपर्नेछ । कार्यक्रममा सहभागिताका लागि विद्यालयको सिफारिस पत्र अनिवार्य गरिएको छ ।
कार्यक्रममा सामाजिक, राजनीतिक, आर्थिक तथा प्रशासनिक विकृतिविरुद्ध व्यङ्ग्य प्रस्तुत गर्न सकिनेछ । साथै, बोलीचाली र शारीरिक हाउभाउ (व्यवहार) मार्फत पनि प्रस्तुति दिन सकिने जनाइएको छ । धार्मिक, जातीय तथा आपत्तिजनक विषयवस्तु भने प्रयोग गर्न नपाइने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट समूह छनोटका लागि प्रारम्भिक चरणपछि मुख्य प्रतियोगिता सञ्चालन गरिनेछ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १५ हजार, १० हजार र ७ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा प्रोत्साहनस्वरुप नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । पुरस्कार राशि नेपाल सरकारको नियमअनुसार करकट्टी गरी प्रदान गरिनेछ ।
