हेटौँडाः मकवानपुरमा चालु आर्थिक वर्ष २०८२/०८३ को ९ महिनाको अवधिमा एचआईभी / एड्सका १४ जना नयाँ संक्रमितहरु थपिएका छन् । साउनयता चैत महिनासम्म जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा परीक्षण पश्चात १४ जना नयाँ संक्रमितहरु थपिएका हुन् ।
अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ९ हजार ५ सय ५९ जनाको रगत परीक्षण गरिएकोमा ४० जनामा संक्रमण देखिएको थियो । त्यसभन्दा अघिल्लो वर्ष ७ सय ६७ जनाको रगत परीक्षणमा ३८ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
अघिल्लो वर्षसम्म जिल्लामा ३ सय ६१ जना संक्रमित भई ३ सय २८ जनाले एचआईभी बिरुद्धको ‘टीएलडी’ औषधि नियमित सेवन गरिरहेकोमा हाल ३ सय ३८ जनाले नियमितरुपमा सेवन गरिरहेको हेटौँडा अस्पतालस्थित एआरटी सेन्टरले जनाएको छ । दैनिक जसो सेवन गर्नुपर्ने यस औषधिले एचआईभी भाइरसको संख्या बढ्न नदिने काम गर्दछ । यसको पूर्ण नियमित औषधि सेवनले भाइरसको संख्यामा गिरावट ल्याई शरीरको प्रतिरक्षा शक्तिलाई कायम गर्दछ । यस औषधिको अनुशासित सेवनले संक्रमितको शरीरको प्रतिरक्षा प्रणाली पूर्णतया सक्रिय हुन जाने स्वास्थ्यकर्मीको भनाइ छ ।
एचआईभी तथा एड्सका संक्रमितहरुमध्ये यौनकर्मी तथा उनीहरुका ग्राहकहरु बढी रहेको एआरटी सेन्टरका परामर्शदाता राजन ठाकुरले जानकारी दिनुभयो । सेन्टरले विभिन्न गैरसरकारी संघसंस्थाहरुको समन्वयमा राजमार्ग क्षेत्रमा रहेका यौनकर्मीहरु तथा उनीहरुका ग्राहकहरुलाई परीक्षण गर्दै आएका छन् ।
केही वर्षअघि सुइबाट लागूऔषध साटासाट गर्नेहरुलाई बढी संक्रमण भएको देखिएकोमा पछिल्लो समय भने यौनकर्मीहरु र ग्राहकहरुलाई नै बढी संक्रमणको जोखिम रहेको पाइएको अर्का परामर्शदाता अमृत लामिछानेले बताउनुभयो । हेटौँडा अस्पतालमा सन् २०१२ देखि जनरल वेलफेयर प्रतिष्ठान तथा एड्स हेल्थकेयर फाउन्डेसनको सहकार्यमा ‘एआरटी’ सेन्टरमार्फत एचआईभी संक्रमितहरुलाई औषधि वितरण गर्दै आइरहेको छ ।
पछिल्ला वर्षहरुमा गर्भवती महिलाहरुलाई अनिवार्य रुपमा एचआईभी परीक्षण गराउने गरिएको छ । परीक्षणको क्रममा गर्भवती आमाको रगतमा एचआईभीको संक्रमण देखिए पनि पेटमा रहेको शिशुलाई सर्नबाट बचाउन सकिने हुनाले यो परीक्षण अनिवार्य गरिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताउनुभयो । अघिल्लो वर्ष जिल्लामा २ जना गर्भवती महिलाहरुमा एचआईभीको संक्रमण पाइएको घिमिरेले जानकारी दिनुभयो । बिरामीलाई रगत दान गर्दा र रगत लिँदा परीक्षणबिना प्रयोग गर्दा पनि यो रोग सर्न सक्छ । तर पछिल्ला वर्षहरुमा रक्तदान भइसकेपछि सो रगतमा एचआईभी परीक्षण गरेर संक्रमित नभएको भए मात्र प्रयोगमा ल्याइने गरिएको छ ।
यस रोगबारे समाजमा व्याप्त भ्रम र अन्धविश्वासलाई हटाउन नसक्दा एचआईभी तथा एड्स रोग तथा संक्रमितबारे नकारात्मक सोच राख्ने गरेको पाइन्छ । त्यसैले गर्दा आफूलाई तिरस्कार गर्ने डरले संक्रमितहरु रोगबारे खुलेर बोल्न चाहँदैनन् र पहिचान खुलाउन पनि चाहँदैनन् । एचआईभी तथा एड्स छुट्टै रोग नभई शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुँदै जाने प्रक्रिया हो । यद्यपि यो सरुवा रोग भएकोले संक्रमितसँगको असुरक्षित यौनसम्पर्क, विर्य तथा रगतको लेनदेन तथा गर्भवती आमाबाट बच्चामा सर्ने सम्भावना रहन्छ । दुई दशक अघिसम्म उपचारको अभावमा एचआईभी तथा एड्स संक्रमितहरुको मृत्यु हुने गर्दथ्यो । सन् २००४ मा नेपालमा एचआईभी बिरुद्धको ‘टीएलडी’ औषधि वितरण सुरु गरेपछि भने एचआईभीलाई दीर्घरोगको रुपमा मात्रै सोच्ने प्रचलन बढेको छ ।
मकवानपुरमा हालसम्म ५ सय ९३ जना एचआईभी संक्रमित भएकामध्ये हाल ३ सय ३८ जनाले नियमति औषधि सेवन गर्दै आएका छन् । हालसम्म संक्रमितमध्ये ५० जनाको मृत्यु भइसकेको सेन्टरले जनाएको छ ।











