हेटौँडा–५ को नवनिर्मित वडा कार्यालय भवन ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ५ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । अहिलेसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको वडा कार्यालय अब आफ्नै भवनमा सञ्चालन हुनेछ ।

हेटौँडा–५ स्थित राईटोलमा रहेको डेढ कठ्ठा सार्वजनिक जग्गामा वडा कार्यालयको भवन निर्माण भएको वडा अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभयो । बागमती प्रदेश सरकार, हेटौँडा उपमहानगरपालिका र वडाको संयुक्त लगानीमा १ करोड ६ लाख रुपैयाँको लागतमा १२ कोठाको भवन निर्माण सम्पन्न भएको हो ।

स्थानीय उपभोक्ता समितिद्वारा गत वर्ष माघ महिनादेखि सुरु भएको निर्माण कार्य यहि चैत महिनामा आएर सम्पन्न भएको वडा अध्यक्ष घिमिरेले बताउनुभयो । बैशाख १ गते नयाँ वर्षको अवसरमा नगरप्रमुख मीनाकुमारी लामाले नवनिर्मित भवनको उद्घाटन गर्नुहुनेछ । उद्घाटनपछि वडा कार्यालय आफ्नै भवनबाट सञ्चालन हुने वडाध्यक्ष घिमिरेले जानकारी दिनुभयो । हेटौँडा उपमहानगरका १९ वटा वडा मध्ये वडा नम्बर २ र १६ को कार्यालय भाडाको घरमा सञ्चालन भइरहेको छ । वडा नम्बर ६ को कार्यालय पनि आधा भाडाकै घरमा सञ्चालनमा रहेको छ ।